सम्मानजनक स्वदेश फिर्तीका लागि भुटानी शरणार्थीको माग

दमक/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाने तयारी भइरहेका बेला नेपालमा रहेका भुटानी शरणार्थीहरुले आफूहरुको सम्मानजनक स्वदेश फिर्तीको माग गरेका छन् । अहिले नेपालका पूर्वी जिल्ला झापा र मोरङमा गरी साढे ६ हजार नेपाली भाषी भुटानीहरु शरणार्थीका रुपमा कष्टकर जीवन व्यतित गरिरहेका छन् । उनीहरु झापा दमकको बेलडाँगी र मोरङको पथरी शनिश्चरेमा रहेका छुट्टा छुट्टै दुई शिविरमा रहेका छन् । आफूहरु कुनै पनि हालतमा तेश्रो देश पुनर्वासमा नजाने अडान लिँदै आएका उनीहरुले प्रधानमन्त्री दाहाललाई आइतबार एक ध्यानाकर्षण पत्र पठाउँदै स्वैच्छिक र सम्मानजनक स्वदेश फिर्तीका लागि पहल गरीदिन माग गरेका हुन् ।
भुटान स्वतन्त्र जनमञ्चका महासचिव धन वीर सुब्बाद्वारा हस्ताक्षरित ध्यानाकर्षण सो पत्र गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयमा पनि पठाइएको छ । पत्रमा विगत ३० वर्षदेखि रहेको शरणार्थी समस्याका विषयमा नेपाल भुटानबीच १५ औं चरण सम्म वार्ता भइसकेको स्मरण गराउँदै सार्थक र परिणाममुखी वार्ताका लागि पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराइएको छ ।
प्रधानमन्त्री दाहाल भारत सरकारको निमन्त्रणामा भारत भ्रमणमा जाने तयारी भइरहेका बेला जनमञ्चले प्रधानमन्त्री दाहालको यस्तो ध्यानाकर्षण गराएको हो । पत्रमा भुटानी शरणार्थी समस्या समाधानका विकल्पहरु मध्ये स्वदेश फिर्तीलाई वेवास्ता गरी तेस्रो देश पुनर्वासलाई मात्र प्राथमिकता दिइएका कारण अमेरिका, अष्ट्रेलिया, क्यानडा लगायतका ८ वटा मुलुकमा १ लाख १३ हजार ५ सय शरणार्थी पुनर्वासमा गएको पनि उल्लेख छ । तेश्रो देश पुनर्वासको कार्यक्रम भने यसअघिनै स्थगित भइसकेको छ । शिविरमा हाल जीवन विताइरहेका शरणार्थीहरुलाई अन्तर्राष्ट्रिय दातृ संस्थाहरुले दिँदै आएको खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य, शिक्षा लगायतको सुविधा पनि कटौती गरिएको छ । अहिले बाँकी रहेका भुटानी शरणार्थीहरुले भने आफूहरुको एकमात्र विकल्प स्वदेश फिर्तीनै रहेकाले त्यसबाहेकको विकल्प नसोचिदिन सम्बन्धित सबैलाई आग्रह गर्दै आएका छन् ।

