दमकमा चोरीका घटना बढ्दै

दमक/ झापा दमकमा चोरीका घटना बढ्न थालेका छन् । यसैक्रममा दमक नगरपालिका-८ विकास मार्ग र सेतुमारी मार्गका दुई वटा पसलमा चोरी भएको जानकारीमा आएको छ ।
पीडितहरुका अनुसार शुक्रवार राति दमकको विकास मार्गस्थित श्रेष्ठ किराना पसल र शनिवार राति सेतुमारी मार्गस्थित लाइफ मोवाईल पसलमा नगद तथा अन्य सरसामानहरु गरी दुई लाख बढीको चोरी भएको छ । ती दुवै पसलको रातिको समयमा सटर तोडेर नगद तथा अन्य सरसमानहरु चोरी गरेको लाइफ मोवाइलका सञ्चालक उद्धव श्रेष्ठले बताएका छन् । इलाका प्रहरी कार्यालयदेखि ५ सय मिटरको दूरीमा अवस्थित ती दुवै पसलमा चोरी गर्नेको पहिचान हुन सकेको छैन । दमक प्रहरीले दुवै चोरीको घटनामा संलग्नको खोजी कार्य भईरहेको जनाएको छ । यसको केही महिना अघि पनि दमकको भालुकुँडी लगायतका केही ठाउँमा दिउँसै चोरीका घटना भएका थिए ।

