काठमाडौं/ नेकपा एमाले बाहेक केही कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी (जसपा)ं बीच समाजवादी मोर्चा बनाएर जाने तयारी भइरहेको बुझिएको छ । ती दलहरुलाई एकीकृत गरेर तेस्रो ठूलो शक्ति निर्माण गर्ने नेताहरुको कसरत रहेको छ ।
माओवादीबाट समाजवादी मोर्चा बनाउन सुरुमा पार्टी प्रवक्ता कृष्णबहादुर महरा नेतृत्वको वार्ता टोली लागीपरेको थियो । जसमा महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत, जनार्दन शर्मा सहभागी थिए । कम्युनिस्ट वामपन्थी शक्तिबीच मोर्चा र एकता गर्न महराको नेतृत्वमा गत पुस २३ गते बनाएको थियो । पछिल्लो समय उर्जा मन्त्रीको समेत जिम्मेवारीमा रहेका शक्तिबहादुर बस्नेत सक्रिय भई लागिरहेको माओवादी केन्द्रका एक नेताले बताए । ‘महरा सर नेतृत्वको वार्ता टोली समाजवादी मोर्चा बनाउन सक्रिय भई लागेको थियो । पछिल्लो समय शक्ति कमरेड बढी सक्रिय भई लाग्नु भएको छ,’ ती माओवादी नेताले भने, ‘उपनिर्वाचन सकियो, नतिजा आएपछि मन्त्रिपरिषद्ले पूणर्ता पाएलगत्तै समाजवादी मोर्चा घोषणा हुन सक्छ ।’ अबको १०/१५ दिनभित्र समाजवादी मोर्चा घोषणा हुने ती नेताको दाबी छ ।
यस्तै जनता समाजवादी पार्टीबाट नेता राजेन्द्र श्रेष्ठ, नेकपा एकीकृत समाजवादी पार्टीबाट विजय पौडेल समाजवादी मोर्चा निर्माणमा सक्रिय भई लागेका छन् । एकीकृत समाजवादीबाट पहिले उपाध्यक्ष बेदुराम भुसालसहित उपमहासचिव प्रकाश ज्वाला, विजय पौडेल लागेका थिए । पछिल्लो समय बेदुराम भुसाल कृषि मन्त्री र प्रकाश ज्वाला भौतिक मन्त्री भएपछि विजय पौडेल र महासचिव घनश्याम भुसाल सक्रिय भई लागेका छन् । शीर्ष नेताहरुसंग भेटघाट गर्नुका साथै डकुमेन्ट तयार गर्न पौडेल र भुसाल लागि परेका छन् । घनश्याम भुसाल महासचिव भएपछि मात्रै मोर्चा निर्माणमा दैनिक खटिने गरेका हुन् ।
उता, एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले समाजवादी मोर्चा निर्माण गर्न शीर्ष नेतृत्व तहमा संवाद भइरहेको बताए । ‘एमालेबाहेक कम्युनिस्ट प्रगतिशील पार्टीका शीर्ष नेताहरु नियमित छलफल र संवादमा हुनुहुन्छ । अरु आवश्यक परेमा पार्टीका दोस्रो तहका नेताहरु भेटेर छलफल जारी राख्नु भएको छ’ खतिवडाले भने, ‘मोर्चा निर्माण गर्न खासै गृहकार्य गर्नु नपर्ने भएकाले सामान्य संवादकै अवस्थामा छ ।’

समाजवादी मोर्चा निर्माण भएमा संसद र सडकका दुबै मोर्चा सशक्त बनाउन सहयोग पुग्ने अपेक्षा लिएको खतिवडाले बताए । यस्तै एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य तथा प्रमुख सचेतक मेटमणि चौधरीले हप्ता दिनभित्रै समाजवादी मोर्चा घोषणा हुने दावी गरे । ‘वैशाख पहिलो साता नै समाजवादी मोर्चा बनाउने भनिएको थियो । तत्काल समाजवादी मोर्चा बनाएर एक ठाउँमा उभ्याउने र पछि दीर्घकालीन रुपमा पार्टी एकता गर्ने योजना रहेको चौधरीले बताए । ‘अहिले विचार र सिद्धान्त मिल्नेहरुबीच मोर्चाबन्दी र सहकार्य गरेर जाने योजना छ । यो मोर्चा बनाएर जाँदा कस्तो नतिजा निस्कन्छ हेरिने छ । विचार मिल्दै गएमा एकतासम्म जाने तयारी छ ’ चौधरीले भने । यसका साथै पछि गएर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, प्रभु साह नेतृत्वको आमजनता पार्टी लगायत पार्टीबीच बृहत समाजवादी मोर्चा बनाउने तयारी गरिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले केही दिनभित्रै समाजवादी मोर्चा गठन गरेर नेकपा अभियान बनाउने अभियानमा लागिने बताएका थिए । गत आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले विचार मिल्ने पार्टीहरु एक ठाउँमा उभिएर मोर्चा बनाउने बताएका हुन् । उनले पुरानो नेकपा व्युँताउने कुरा गरेका थिए । प्रचण्डले २०७४ मा आफूले नै एकताको प्रस्ताव गरेको भन्दै राष्ट्रिय स्वाधीनता र एकता तथा जनजीविकाका साथै गणतन्त्र सुदृढ गर्न पनि कम्युनिस्टहरू एकता हुन जरुरी रहेको बताए । यस्तै एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चा बनाउन आग्रह गरिरहेकाले तत्काल मोर्चा बनाएर जाने बताए । विचार मिल्ने स-साना पार्टीहरुलाई जोड्दै गइने छ’ अध्यक्ष नेपालले भने, ‘विचार, सिद्धान्त, व्यवस्थापनको कार्यशैली र कार्यनीति मिल्यो भने एमाले बाहेकको एउटै पार्टी बन्न सक्छ ।’ कम्युनिष्टहरु मिलिदिए हुन्थ्यो भन्ने जनभावना भएकाले त्यो अवस्था सबैले देख्न पाउने उनले बताए ।

Facebook Comments Box