दमक बहुमुखी संस्थाको स्थापना दिवसमा स्वास्थ्य शिविर र रक्तदान

दमक/ दमक-१ फाल्गुनन्द चौकस्थित दमक बहुमुखी सहकारी संस्थाले स्थापनाको २२ औं वर्षगाँठको अवसरमा शनिबार ज्येष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रमको आयोजना गरेको छ । संस्थाको सभाहलमा बिहान ८ बजे भएको रक्तदानमा ३२ जना रगतदान गरेका सो सहकारी संस्थाका अध्यक्ष मोहन कुमार श्रेष्ठले जानकारी गराए । त्यस अवसरमा रक्तदानमा प्राविधिक सहयोग गर्ने नेपाल रेडक्रस सोसाईटी दमक उपशाखालाई सो कार्यका लागि दुई थान उच्चस्तरीय कुर्सी सहयोग स्वरुप प्रदान गरेको पनि उनले बताए । स्वास्थ्य शिविरमा ६० जनाभन्दा बढीको स्वास्थ्य जाँच गरिएको जानकारी गराइएको छ ।
यता शनिबार मध्यान्ह १२ बजेतिर दमक-८ स्थित ज्येष्ठ नागरिक संघ दमक नगर समितिको सभाहलमा ज्येष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य जाँच गरियो । सो कार्य दमक अस्पतालका डा. अनुपम घिमिरे र डा. प्रदिप भट्टराईले गरेका थिए । त्यस अवसरमा सहभागी ज्येष्ठ नागरिकहरुको रक्तचाप जाँच गर्नुका साथै मुटु, दम, प्रेसर, छाती लगायतको स्वास्थ्य जाँच गरिएको जानकारी गराइएको छ । दमक बहुमुखी सहकारीको अध्यक्ष मोहन कुमार श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सहकारीका स्वास्थ्य उपसमिति संयोजक बुद्धिशेखर भट्टराईले कार्यक्रमको औचित्यका बारेमा प्रकाश पारेका थिए भने कार्यक्रम संचालन सहकारीका व्यवस्थापक हेमन्त रिजालले गरेको ज्येष्ठ नागरिक संघ दमक नगर समितिका कोषाध्यक्ष तुलाराम बाँस्तोलाले बताए । कार्यक्रममा समितिका संस्थापक अध्यक्ष लक्ष्मी प्रसाद थपलिया र उपाध्यक्ष गोपाल प्रसाद दाहालको आतिथ्यता रहेको थियो । स्वास्थ्य शिविरमा जाँच गर्न आउने ज्येष्ठ नागरिकहरुलाई निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।

