लेटाङ /,  मोरङको लेटाङ नगरपालिकाले नगरको वर्तमान वित्तिय अवस्था सार्वजनिक गरेको छ । संघीय सरकारबाट आउनु पर्ने बजेट कम आएको तथा नगरको आन्तरिक आम्दानी समेत घटेकाले लेटाङ नगरपालिकाले पत्रकार सम्मेलन गरि बजेटको यथार्थता सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै लेटाङ नगरपालिकाका प्रवक्ता भूम सूर्यमगरले १५ करोड भन्दा बढी बजेट घाटा हुने भएकाले त्यसको प्रत्यक्ष असर नगरका ठूला योजनामा परेको जानकारी गराउनु भयो ।                                               

चालु आर्थिक वर्षमा ५१ करोड ९३ लाख ३४ हजार राजश्व विभिन्न शीर्षकबाट प्राप्त हुने अनुमान गरिएकोमा हालसम्म ३१ करोड ११ लाख ५० हजार ५ सय ४८ रुपैयाँ प्राप्त भएको र १९ करोड ७४ लाख ४ हजार २ सय २७ रुपैयाँ बाँकी रहेको प्रवक्ता मगरले जानकारी दिनुभयो । जसमा १५ करोड ४५ लाख ३२ हजार ३ सय ८ रुपैयाँ अर्थात २९ दशमलव ७५ प्रतिशत बजेट कम आउने देखिएकाले सो बजेट घाटा हुने अनुमान गरिएको छ । जसमध्ये प्रदेश राजश्व १७ दशमलव ५ प्रतिशत, संघीय राजश्व ३४ दशमलव ९७ प्रतिशत, समानिकरण अनुदान, १२ दशमलव ५० प्रतिशत कम आएको पत्रकार सम्मेलनमा वितरित विज्ञप्तीमा उल्लेख गरिएको छ । यस्तै स्थानीय राजश्व अन्तरगत मालपोत १२ दशमलव ५० प्रतिशत, नदीजन्यतर्फ ५५ दशमलव ८७ प्रतिशत, अन्तरिक राजश्वतर्फ चालुवर्षको ६२ दशमलव ५५ प्रतिशत गरि समग्रमा २९ दशमलव ७५ प्रतिशत अर्थात १५ करोड ४५ लाख ३२ हजार ३ सय ८ रुपैयाँ बजेट घाटा हुने नगरपालिकाले अनुमान गरेको छ ।

घरजग्गा कारोवारमा रोक लगाइएका कारण रजिष्ट्रेशन शुल्कवापतको रकम प्राप्तीमा कमी भइ संघीय सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँड रकममा करीव ३५ प्रतिशत कमी आएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

यसैगरि नदीजन्य राजस्व घट्नुमा ठेक्का लगाउने क्षेत्र साँघुरिएको तथा नदीजन्य पदार्थको परिमाण समेत कम भएकाले कम आकारको ठेक्का लगाइएकाले असर परेको जनाइएको छ । मदन मार्ग निर्माणको क्रममा खोलाहरुमा पुल बन्दै जानु र झोलुङ्गे पुल समेत थप हुँदै गएकाले पुलको दायाँवाँया ५०० मीटरको प्रतिवन्धात्मक क्षेत्र हुँदा ठेक्का लगाउने क्षेत्र साँघुरिएको तथा पर्याप्त वर्षा नभएका कारण खोलामा नदीजन्य सामाग्रीको परिमाण कमभइ कम परिमाणको ठेक्का लगाउनु परेको उल्लेख गरिएको छ । गतवर्ष ४ लाख २१ हजार घनमीटर परिमाण ठेक्का लागेकोमा यो वर्ष १ लाख ९२ हजार घनमीटर परिमाण मात्र ठेक्का लागेकाले कम राजश्व संकलन भएको छ ।

यस्तै नगरपालिका क्षेत्रमा निर्माण भइरहेका घरहरु करको दायरामा नआएका कारण राजश्व संकलनमा असर परेको जनाइएको छ ।
यसरी राजश्व संकलन कम हुँदा नगरका ठूला योजनाहरु प्रभावित भएका छन् । जसमा अन्तर धार्मिक शान्तिपार्क, नगरपालिका प्रशासनीक भवन, अन्तर सांस्कृतिक संग्राहलय, रंगशाला, विभिन्न संघ सँस्थासँगको साझेदारी कार्यक्रम र आर्थिक विकास तथा सामाजिक विकासका केहि योजना कटौती गर्नु परेको प्रवक्ता मगरले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा बजेट घाटा भएका कारण त्यसलाई कम गर्नका लागि चालु प्रकृतिका खर्च घटाउने र पूँजीगत खर्च बढाउने खालका कार्यहरु प्रारम्भ गर्ने तथा करको दायरा बढाउनेतर्फ नगरपालिकाले ध्यान केन्द्रित गर्ने पनि जानकारी दिइएको छ ।

संघीय सरकारले वित्तिय समानीकरण अनुदान रकम कटौती गर्ने भनेर पत्राचार नै गरेको छ भने जग्गा वर्गिकरणका कारण घरजग्गा कारोबार रोकिंदा देशभरका पालिकामा राजश्व संकलनमा असर परेको छ । यस्तै राजश्व बाँडफाँडको रकम समेत संघीय सरकारले घटाएर पठाउन थालेको छ । देशभर राजश्व संकलन कम हुँदा देशको पछिल्लो आर्थिक अवस्था विग्रँदो भएका कारण त्यसको असर स्थानीय तहहरुमा पनि परेको छ ।

Facebook Comments Box