नोबेल अस्पतालमा न्यूरो सर्जनहरुको अन्तर्राष्ट्रिय सम्मेलन

विराटनगर/ नोबेल शिक्षण अस्पतालको न्यूरो सर्जरी विभागले ७ औं वार्षिकोत्सवको अवसर पारेर न्यूरोभास्कुलर र न्यूरोक्रिटिकल सम्मेलन आयोजना गरेको छ । नोबेलमा अत्याधुनिक न्यूरो सर्जरी सेवा सुरु गरिएको वर्षलाई आधार मानेर वार्षिकोत्सव मनाउने क्रममा नेपाल र भारतका वरिष्ठ न्यूरो सर्जनहरुको सहभागितामा सम्मेलन आयोजना गरिएको हो ।


कार्यक्रममा नेपाल र भारतका न्यूरो सर्जनहरुले एकापसमा अनुभव आदानप्रदान गरेका छन् । सो अवसरमा न्यूरो सर्जरी सम्बन्धी प्रयोगात्मक अभ्यास पनि गरिएको छ । कार्यक्रममा नेपाल न्यूरो सर्जन सोसाईटीका अध्यक्ष वरिष्ठ न्यूरो सर्जन डा.प्रविन श्रेष्ठले न्यूरो सर्जरीको वर्तमान अवस्था र भावी चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत गरेका छन् । कार्यक्रममा नोबेलको न्यूरो सर्जरी विभागका प्रमुख वरिष्ठ न्यूरो सर्जन डा.प्रकाश काफ्लेले न्यूरो सर्जरी विभागको कार्यप्रगति प्रस्तुत गर्दै विभागमा हालसम्म करिब ३० हजार विरामीको उपचार र करिब ४ हजार विरामीको मस्तिष्क र मेरुदण्डको शल्यक्रिया गरिएको जानकारी दिए । कार्यक्रममा सहभागीहरुलाई नोबेल मेडिकल कलेजका प्राचार्य प्रा.डा.रामहरी घिमिरे र अस्पताल निर्देशक प्रा.डा.राजेश नेपालले मन्तब्यमार्फत् स्वागत गरेका छन् । डा.सुनिल शर्माले २०६२ सालबाट नोबेल अस्पताल सञ्चालन गरेका हुन् । नोबेलले २ अर्ब ४० करोडको लगानीमा दक्षिणपूर्वी एशियामै पहिलो पटक २०७३ सालबाट अत्याधुनिक न्यूरो सर्जरी सेवा सुरु गरेको हो ।
नोबेलको न्यूरो विभागमा ओ-आर्म, आई सेभेन नेभिगेशन सिस्टम, पेन्टेरो ९०० थ्रीडी एचडी माईक्रोस्कोप, थ्री तेस्ला इन्ट्राअपरेटिभ फङ्सनल एमआरआई, रोवोटिक आर्मसहितको न्यूरो ईण्डोस्कोप लगायत अत्याधुनिक उपकरण छन् । अत्याधुनिक उपकरण र दक्ष चिकित्सकहरु भएकाले नोबेलमा जटिल एवं दुर्लभ शल्यक्रिया पनि सफलतापूर्वक गरिँदै आएको छ । नोबेलमा नेपालका बिभिन्न जिल्लासहित भारत, माल्दिभ्स, बर्मा लगायत देशका विरामी पनि उपचारका लागि आउने गर्छन् ।