दमक/ झापाको दमकका किसानहरुलाई परिचय पत्र वितरण गर्न थालिएको छ । कृषि क्षेत्रमा लागेका किसानहरुलाई राज्यबाट विभिन्न सेवा सुविधा पुर्‍याउन सहज होस् भन्ने उद्देश्यले सरकारको योजनाअनुसार किसानको परिचय पत्र दिन शुरु गरिएको दमक नगरपालिकाका नगर प्रमुख राम कुमार थापाले जानकारी गराए । यस्तो परिचय पत्र विगतमा सरकारले गरेको कृषि गणनाका आधारमा तयार पारिएको हो ।
बिहीबार नगरपालिकाको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी नगर प्रमुख राम कुमार थापा र उप-प्रमुख रेगिना भट्टराई प्रसाईले पालै पालो गरी पालिकाका विभिन्न वडाका ८० जना किसानहरुलाई यस्तो परिचय पत्र वितरण गरे । नगरपालिकाले हालसम्म ७ सय जना किसानहरुको परिचय पत्र तयार पारिसकेको र अहिले पहिलो चरणमा ८० जनाबाट वितरणको कार्य शुरु गरिएको नगरपालिका कृषि शाखा प्रमुख चन्द्रकला भट्टराईले प्रष्ट पारिन् । किसानहरुलाई राज्यबाट प्रदान गरिँदै आएको विभिन्न किसिमका अनुदान वितरणमा समेत सहजता आओस् भन्ने हेतुले यस्तो परिचय पत्र वितरण गरिएको नगर प्रमुख थापाले प्रकाश पारे । आर्थिक विकास समिति संयोजक तथा वडा नम्वर ५ का वडाध्यक्ष इन्द्र बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कृषि शाखाका अधिकृत रुपक बुढाथोकीले किसानलाई परिचय पत्र दिनुको आवश्यकता र औचित्य साथै भोलीका दिनमा त्यसको महत्वका बारेमा चर्चा गरेको थिए । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरु प्रसाद निरौला र वडा नम्वर १ का वडाध्यक्ष हरि प्रसाद न्यौपानेको पनि आतिथ्यता रहेको थियो भने परिचय पत्र पाउने किसानका तर्फबाट त्रिलोचन न्यौपानेले आफ्ना भनाईहरु राखेका थिए । न्यौपानेले समयमा मल, बीउ नपाउने र उत्पादन गरेको कृषि उपजको उचित मूल्य नपाउने समस्याले किसानहरु हैरान भइरहेको गुनासो गरेका थिए ।

Facebook Comments Box