मातृ तथा शिशु मृत्यु शून्यमा झार्न अभिमुखीकरण

दमक/ मातृ तथा शिशु मृत्यु दर शून्यमा झार्ने उद्देश्यले झापाको दमकमा स्थानीय स्वास्थ्यकर्मीहरुको दुई दिने अभिमुखीकरण तालिम शुरु भएको छ । दमक नगरपालिकाको आयोजनामा बिहीबारदेखि शुरु भएको सो अभिमुखीकरणमा स्थानीय सरकारी तथा निजी अस्पतालहरुका कार्यरत महिला स्वास्थ्कर्मीहरुको सहभागिता रहेको छ ।
अभिमुखीकरण कार्यक्रमको नगरपालिकाको सभाकक्षमा उप-प्रमुख रेगिना भट्टराई प्रसाईले व्यानर वाचन गरेर उद्घाटन गरिन् । त्यसपछि मन्तव्य राख्दै उनले कार्यक्रममा सिकेका सिकाईका कुराहरुलाई कार्यस्थलमा व्यवहारमा रुपान्तरण गर्न सके र आफूले जानेको सीपको उचित प्रयोगरी गरी मातृ तथा शिशु मृत्युदरलाई घटाउन सके त्यो नै तालिमको ठूलो उपलब्धि हुने बताइन् । शुक्रबार सम्म चल्ने सो कार्यक्रममा कोशी प्रदेश स्वास्थ्य निर्देशनालयकी अधिकृत तुलसा अधिकारी र आम्दा अस्पताल दमककी स्वास्थ्यकर्मी सुनिता सिम्खडाले सहजीकरण गरिरहेका छन् । कार्यक्रमको अध्यक्षता गरेका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरु प्रसाद निरौला, स्वास्थ्या शाखाका जनस्वास्थ्य निरीक्षक बद्री बराल र स्वास्थ्य अधिकृत नगेन्द्र प्रसाद भट्टराईले मातृ तथा शिशु मृत्युदर घटाउने कार्यक्रम उपयोगी सावित हुन सक्ने विश्वास व्यक्त गरेका थिए ।

