कमल/ झापाको कमल गाउँपालिकाका जनप्रतिनिधि र केही सामाजिक व्यक्तित्व तथा बालबालिकाहरुका लागि मनोसामाजिक सहयोग बारे सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । शनिबार जनप्रतिनिधि, शिक्षक र सामाजिक व्यक्तित्वहरु र आइतबार कमल बाल सञ्जाल, बाल क्लब तथा विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई लक्षित गरी यस्तो सचेतना दिइएको हो ।

शान्ति तथा संचार मञ्च नेपाल नामक सामाजिक संस्थाको आयोजना र कमल गाउँपालिकाको सहयोगमा सम्पन्न सो कार्यक्रममा पहिलो दिन प्रमुख अतिथि कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, विशेष अतिथिहरुमा सोही पालिका वडा नम्वर ३ का अध्यक्ष अग्नीप्रसाद कोइराला, ५ का लालबहादुर विष्ट, ६ का नरेन्द्र प्रसाद भट्टराई, पालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य, कार्यक्रम स्थल मंगलमय माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन कुमार बगाले,  ज्येष्ठ नागरिक संघ दमक नगर समितिको अध्यक्ष रघुनाथ खरेल लगायत रहेका थिए । कार्यक्रममा पालिकाका वडा सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै गाउँपालिका उपाध्यक्ष न्यौपाने अहिलेको समयमा आर्थिक अभाव र मन्दी, पारिवारिक झमेला र बोझ, द्वन्द्व र हिंसा, तनाव  लगायतका कारण मानिसहरुमा मनोसामाजिक समस्या, मानसिक अस्वस्थता र आत्महत्यको क्रम बढ्दो रहेकाले यसलाई न्यूनीकरण र रोकथाम गर्नु आजको आवश्यकता भएको बताइन् । कार्यक्रमको समापन सत्रमा वडा नम्वर ३ का  वडाध्यक्ष अग्नीप्रसाद कोइरालाले किशोर किशोरी  र विद्यालयका बालबालिकाहरुमा पनि यस्तो समस्या देखिने गरेकाले तिनको निदानका लागि मनोसामाजिक सहयोगले समाधानका लागि काम गर्नसक्ने बताए । उद्घाटन सत्रमा ज्येष्ठ नागरिक संघ दमक नगर समितिका अध्यक्ष रघुनाथ खरेलले व्यस्त दैनिकी र गरिबी तथा अनेकन झन्झटिला व्यवहारका कारण ज्येष्ठ नागरिकहरुमा समेत यस्तो समस्या देखिने भएकाले उनीहरुलाई पनि मनोपरामर्श जरुरी रहेको प्रकाश पारे  ।

आयोजक संस्था मञ्चका अध्यक्ष पंकज दाहालको अध्यक्षतामा भएका दुवै दिनका  कार्यक्रममा सहभागीहरुलाई स्वागत र कार्यक्रमको औचित्यका बारेमा उनै दाहालले नै मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन संस्थाका सचिव तोम प्रसाद बाँस्कोटाले गरेका थिए । दोश्रो दिनको बालबालिकाको कार्यक्रममा सहकार्य गरेको कमल बाल सञ्जालकी उपाध्यक्ष एगृना पराजुलीले उद्घाटन सत्रमा र सचिव रञ्जना बस्नेतले समापनका क्रममा आ-आफ्ना भनाईहरु राखेका थिए । दुवै सचेतना कार्यक्रममा मेची बहुमुखी क्याम्पस भद्रपुरका प्राध्यापक दिनेश पौडेल र मनोविज्ञ गोविन्दराज कट्टेलले सहजीकरण गरेका थिए  । उनीहरुले मनोसामाजिक समस्या र सहयोग, मानसिक समस्या, अस्वस्थहरुको पहिचान र उपचारको विधि तथा आत्महत्या न्यूनीकरणका उपाय साथै लागुऔषध दुव्र्यसनबारे विस्तृत जानकारी र प्रस्तुति गरेका थिए  ।    दोश्रो दिनको कार्यक्रममा मंगलमय माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तीर्थबहादुर थापा, शिक्षक भिम प्रसाद पोखरेल लगायतको विशेष आतिथ्यता रहेको थियो भने कार्यक्रमको प्रमुख अतिथि कमल गाउँपालिका उपाध्यक्ष न्यौपानेनै रहेकी थिइन्  ।

Facebook Comments Box