आमाको स्मृतिमा असहाय, विरामी र विपन्नलाई सहयोग

कमल/ झापाको कमल गाउँपालिका वडा नं ७ मेमेङ टोल निवासी स्वर्गीय गौमाया बेघा केरुङको दोश्रो वार्षिक पुण्य तिथिको अवसर पारेर उनको सम्झनामा परिवारले विपन्न, असहाय तथा बिरामीहरुलाई नगद तथा खाद्यान्न सहयोग प्रदान गरेको छ ।


बिहिबार परेको पुण्य तिथिको अवसर पारेर पति गणेश केरुङसहित जेठी छोरी शान्ता, कान्छी चेसुङ, छोराहरु भिम, आइतराज, ओमप्रकाश र विरहाङ केरुङ परिवारजनले दमक र लखनपुरमा गरी ६० हजार रुपैयाँ भन्दा बढीको नगद तथा जिन्सी सहयोग गरेका हुन् ।
सो परिवारले दमक-९ स्थित दमक बालबृद्धाश्रममा नगद पाँच हजारसहित चामल, तेल, दाल, केराउ, सावुन, चिनीसहित सरसफाईका विभिन्न सरसामानहरु प्रदान गरेका छन् । स्वर्गीय गौमायाकी छोरी ज्वाइँ चेसुङ लिम्बू र बिष्णु सुब्बाले आश्रमकी अध्यक्ष मन्धरा पौडेल, कोषाध्यक्ष मेनुका बुढाथोकीसहितलाई नगदसहित ती सामग्री हस्तान्तरण गरे ।
त्यसैगरी, उनका परिवारजनले दमक-४ स्थित रत्न ज्येष्ठ बृद्धाश्रममा पनि चामल, तेल, दाल, सोयाबिन, साबुन लगायतका सामग्री हस्तान्तरण गरेका थिए । त्यस्तै सोही स्मृतिमा दमकका दुई जना दीर्घरोगीलाई घर घरमै पुगेर जनही १० हजारका दरले कुल २० हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् । स्वर्गीय गौमायाकी छोरी चेसुङले दमक-५ की १३ वर्षीया मिर्गौला बिरामी कुसुम लिम्बू र दमक-७ की १५ वर्षीया देविका तामाङको उपचारका लागि सो सहयोग रकम हस्तान्तरण गरिन् । त्यसअघि आमाको स्मृतिमा कमल-७ गेउरियास्थित किरात युमा माङहिमलाई समेत उनका परिवारले नगद ११ हजार १ सय रुपैयाँ प्रदान गरेका थिए ।