दमक/ झापाको दमक नगरपालिका-७ स्थित ॐ मेची हस्पिटलले निःसन्तान र बाँझोपन सम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । शुक्रबार अस्पताल हातामै संचालन गरिएको सो शिविरमा १३७ सेवाग्राहीहरुको स्वास्थ्य जाँच गरिएको छ । सो जाँच भारतको सिलिगुढीबाट आएका निःसन्तान र बाँझोपन सम्बन्धी रोगका विशेषज्ञ डा. प्रसन्जित कुमार रोय र डा. सेफ अली वंशल माधवले गरेका थिए । खासगरेर महिला तथा पुरुषमा रहेको यो बाँझोपन र निःसन्तानको समस्या समाधानमा सघाउ पुगोस् भन्ने उद्देश्यलले यस्तो खालको स्वास्थ्य शिविर आयोजना गरिएको सो अस्पतालका निर्देशक डा. शंकर प्रसाद हुज्दारले बताए ।
शिविरको उद्घाटन सत्रको प्रमुख अतिथि रहेका दमक नगरपालिकाका नगर प्रमुख राम कुमार थापाले बाँझोपनको समस्या बाहिर भन्न र देखाउन पनि कतिपयलाई अप्ठ्यारो लाग्ने गरेको साथै निः सन्तान हुने चिन्ताले युवा दम्पत्तीहरुलाई समस्यामा पार्ने भएकाले शिविर सो को समाधानका लागि फलदायी हुन सक्ने विश्वास व्यक्त गरे । कार्यक्रमको अध्यक्षता ॐ मेची हस्पिटलका संचालक समितिका अध्यक्ष तथा स्त्री रोग विशेषज्ञ डा. निरञ्जन सिंह बोगटीले गरेका थिए भने स्वागत मन्तव्य अस्पताल संचालक समितिका सदस्य ढुण्डीराज भण्डारीले गरेका थिए । कार्यक्रमको संचालन देवी प्रसाद भण्डारीले गरेको अस्पतालका कार्यालय प्रमुख सत्यनारायण यादवले जानकारी गराए । ॐ मेची अस्पताल खासगरी स्त्री रोग र प्रसुती सेवाका लागि पूर्वमा नाम चलेको अस्पतालका रुपमा पर्दछ । सो अस्पताललाई विगत ५ वर्षदेखि विर्तामोडको एन.आर. एल. प्याथोलोजी सेवाले ल्याव टेष्टका लागि आवश्यक सहयोग गर्दै आएको छ ।

Facebook Comments Box