डिपु चौक-मदनडाँगी ः दमककै नमूना कालोपत्रे सडक बन्ने

दमक/ दमकमा लामो समयको पर्खाइ पछि नगरपालिका क्षेत्रकै सबैभन्दा उत्कृष्ट नमूना सडक बन्ने भएको छ । गत वैशाख ६ गते ४ किलोमिटर ८६६ मिटर बराबर दूरीको कालोपत्रे सडक बनाउन दमक नगरपालिका र राजधानी काठमाडौंको कन्काई इन्टरनेशनल विल्डर्स प्रा.लि. नामक ठेकदार कम्पनीबीच सो सम्बन्धी सम्झौता भइसकेको छ । सम्झौताअनुसार दमक नगरपालिकाले कार्यादेश दिएको ७ सय ३० दिन अर्थात् दुई वर्षभित्र सो कालोपत्रे सडक निर्माण गरिसक्नु पर्ने छ । सम्झौता पत्रमा दमक नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत डमरु प्रसाद निरौला र ठेकदार कम्पनी कन्काई इन्टरनेशनल विल्डर्स प्रा. लि. का आधिकारिक प्रतिनिधि राजकुमार थापाले हस्ताक्षर गरेका छन् ।
सो कालोपत्रे सडक तारबारीको डिपु चौकबाट शुरु भएर संगम चौक दिपीनी होली हुँदै पूर्वप्रधानपञ्च स्वर्गीय धनबहादुर श्रेष्ठको घर नजिकै रहेको चौकमा गएर टुंगिने नगरपालिका पूर्वाधार विकास शाखाका प्रमुख अनन्त प्रसाद सेनेहाङ्गले जानकारी गराए । सडक निर्माणको प्रारम्भिक शुरुवातका लागि ५० फुटको चौडाई रहने सो सडकको दायाँ बायाँ साइट क्लियर गर्ने र त्यसका लागि दुवै तर्फ नापजाँच गरी किला गाड्ने काम यही जेठ ५ गते बिहान साढे ७ बजे डिपु चौकमा भेला भएर गरिने निणर्य भएको छ । आइतबार दमक नगरपालिकाका प्रमुख राम कुमार थापाको अध्यक्षतामा पालिकाका उच्चस्तरका कर्मचारी, परामर्शदाता कम्पनी र ठेकदार कम्पनीका प्रतिनिधिहरुको संयुक्त बैठकले सो निणर्य गरेको हो । सो सडक आसपासका जनताको गुनासो, माग र अपेक्षालाई ध्यानमा राख्दै यही जेठ महिनाको तेश्रो सातादेखिनै सो सडक कालापत्रेको काम शुरु गर्न लागिएको नगर प्रमुख थापाले बताए । दमकका लागि यो गौरवको सडक हुने पनि उनले बताए । सो सडक विश्व बैंकको लगानी र नेपाल सरकारले दमक नगरपालिकालाई दिएको अनुदान रकमबाट बन्न लागेको हो । सो अनुदान या ठेक्काको रकम ४४ करोड २४ लाख १५ हजार ५२७ रुपैयाँ २५ पैसा रहेको परामर्श दाता जोइन्ट भेन्चर कम्पनी सिडेप-पिकासो-पारगन-कोमेन्कोका परियोजनाका टिम लिडर ईन्जिनियर किरण कुमार महतले जानकारी गराए । नगरपालिकाले आह्वान गरेको टेण्डर प्रकृयामा १५ वटा कम्पनीले बोलपत्र पेश गरेकामा कन्काई इन्टरनेशनल विल्डर्स प्रा.लि. छानिएको हो ।
निर्माण हुने नमूना सडकमा ७ मिटर गाडी कुद्ने कालोपत्रे, दाँया बाँया डेढ/डेढ मिटर गरी ३ मिटरको साइकल लेन र साइडमा दुवै तर्फ ड्रेन रहने जनाइएको छ । आगामी १० दिनभित्र ठेकदार कम्पनीले जोइन्ट कन्स्ट्रक्सन सर्भे रिपोर्ट नगरपालिकामा बुझाइसक्ने प्रतिवद्धता पनि आइतबारको संयुक्त बैठकमा कन्काई इन्टरनेशनल विल्डर्सका आधिकारिक प्रतिनिधि थापाले व्यक्त गरे । सडकको दुवै तर्फ सडक बत्ती र रुख विरुवा पनि लगाएर सौन्दर्यकरण गर्ने काम पनि ठेकदारकै जिम्मामा रहेको छ । सोही कारण अब बन्ने सडक माटोको सतहदेखि गिटी बालुवा र अलकत्रा सहित ४५ सेन्टिमिटर मोटाईको हुने भएकाले दमककै नमूना र अत्यन्तै उच्चस्तरको हुने विश्वास व्यक्त गरिएको छ । सो सडकको नाम तारबारी डिपु चौकदेखि मदनडाँगी सडक राखिएको छ । सडकको रेखांकन आउँदो शुक्रबार सडकले छुने वडाहरु दमक-१, २, ३, ४ र ५ का वडाध्यक्ष, वडा सदस्य, उपभोक्ता लगायतको सहभागितामा गरिने जनाइएको छ । कुनै बाधा विध्न नआए सडक निर्माण तोकिएको समयमै सक्ने योजनामा आफूहरु रहेको ठेकदार कम्पनीका स्थानीय प्रतिनिधि राजकुमार थापाले बताए । आइतबार नगरपालिकामा भएको संयु्क्त बैठकमा नगर उप-प्रमुख रेगिना भट्टराई प्रसाई, वरिष्ठ प्रशासकीय अधिकृत यज्ञराज निरौला, लेखा अधिकृत देवी प्रसाद कोइराला, ईन्जिनियरहरु अनन्त प्रसाद सेनेहाङ्ग र गणेश गुरुङ, सव-ईन्जिनियर कमल प्रसाद दाहाल लगायतको उपस्थिति रहेको थियो ।

