विर्तामोड/ नेपाल प्रेस युनियन झापाको अध्यक्षमा गिरिराज भट्टराई निर्वाचित भएका छन् । आइतबार सम्पन्न १० औं जिल्ला अधिवेशनमा अध्यक्ष पदका लागि भट्टराई, राजेन्द्र गौतम र मनकुमार शर्मा उम्मेदवार थिए । अरु पदमा सर्वसम्मत भए पनि अध्यक्ष पदमा चुनावी प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धामा भट्टराईले ६६, गौतमले ५२ र शर्माले १ मत प्राप्त गरेका थिए ।
यसैगरी, उपाध्यक्षमा ईश्वर अधिकारी, सविना लिम्बू, सचिवमा अर्जुन राजवंशी, कोषध्यक्षमा ओमप्रकाश भट्टराई, सहसचिवमा जसोदा राजवंशी सर्वसम्मत चयन भए । कार्यसमिति सदस्यहरुमा भने रणदेव हजाम, अनुसा चुँडाल, तलु बास्के, शान्ति सुब्बा, विष्णु श्रेष्ठ, जोस्ना श्रेष्ठ, कौशल भण्डारी, तुलसीप्रसाद निरौला, देवेन्द्र प्रसाई, पोषराज कटुवाल, युवराज रेग्मी, रञ्जित परियार र विष्णुप्रसाद पौडेल चयन भएका छन् ।
अधिवेशनमा विभिन्न विधाका पुरस्कारबाट चार पत्रकारलाई सम्मान गरिएकोा थियो । पत्रकारहरु विष्णु सुब्बा, अर्जुन राजवंशी, लीला अनमोल र बेनुप्रसाद अधिकारी सम्मानित भएका हुन् । सुब्बा र राजवंशीलाई खगेन्द्र कार्की स्मृति पत्रकारिता पुरस्कार, अधिकारीलाई टंकप्रसाद रमादेवी पाठक स्मृति पत्रकारिता पुरस्कार र अनमोललाई रमादेवी टंकप्रसाद स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका जिल्ला सभापति देउमान थेबेले पुरस्कार वितरण गरेका थिए ।

Facebook Comments Box