प्रधानमन्त्री र एमाले नेताहरुबीच सीमा विवाद र बंगलादेश मोडललाई लिएर पनि आरोप प्रत्यारोप चल्यो । भारतीय समकक्षी मोदीले पत्रकार सम्मेलनमै सीमा समस्या समाधान गर्ने बताएपछि उत्साहित भएका प्रधानमन्त्री प्रचण्डले दिल्लीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अब विकल्पहरु खोजी हुने र नेपाली विज्ञहरुले वंगलादेश मोडल पनि विकल्प हुनसक्छ भनेर सुनाएका थिए ।

एमालेले यसमा प्रश्न उठाएपछि प्रधानमन्त्रीले यो आफ्नो प्रस्ताव नभएको स्पष्टीकरण दिए । जग्गा साटासाटको विकल्प आफ्नो नभई विज्ञहरुको भएको भन्दै उनले भने, ‘विकल्प भनेर मोदीसँग कुरा भएको होइन, भारतसँग विकल्पको कुरा गरेर चर्चा भएको होइन । हाम्रो भूमि पहिले हुनुपर्‍यो, त्यसमा प्रष्ट छु ।’

बरु एमाले निकट बुद्धिजीविहरुले नै यो विकल्प सुझाएको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘लिपुलेक, कालापानी, लिम्पियाधुरा जग्गाको सट्टा अर्कोको कुरा उठेको पनि होइन । यो समस्या सदाका लागि हल गर्नुपर्दछ भन्ने कुरा भएको हो ।’

एमाले अध्यक्ष ओलीले यसमा प्रष्टिकरणमा चित्त बुझाएनन् । ‘बंगलादेश जाने बाटोसँग लिम्पियाधुरा, लिपुलेक साटफेर गर्न सकिने कुरा सस्वर आएका छन्’ उनले भने, ‘पारवहनको विषय सट्टापट्टाको विषय होइन, अधिकारको विषय हो ।’

प्रधानमन्त्रीले राष्ट्रिय हितको पक्षमा अडान राख्न नसकेको र डरपोक भएको उनको दाबी छ । उनले अघि भने, ‘मौका गुमाउनुमात्र भएन, बिगार्नुभयो । यही तरिकाले हो भने राष्ट्रिय अखण्डताको रक्षा गर्छ भन्नेमा सन्देश पैदा भएको छ ।’

Facebook Comments Box