विश्वासको मत लिने मुख्यमन्त्रीको दावी

झापा, १ भदौ/ कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आफूले विश्वासको मत पाउने बताएका छन् । विराटनगरस्थित प्रदेशसभाको बैठक पछि शुक्रवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ‘विश्वासको मत प्राप्त गर्नका लागि गठबन्धनसँग ४७ संख्या छ । बहुमत ४७ नै हो मैले विश्वासको मत पाउँछु,’ उनले भने, ‘मैले मागेको समयमा एक दिन पछि सारिएको विषय सल्लाहमै भएको हो ।’ प्रतिपक्षी दलहरूले सरकारले विश्वासको वातावरण बनाएन भनेर भनिरहेको विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले भने विश्वासको मत लिने दिनसम्ममा आफूले छलफल गर्ने बताए । ‘विश्वासको मत लिने वातावरण बनाउन कै लागि भदौ ४ गतेसम्मको समय लिएको हुँ,’ थापाले भने ।
उनले उपसभामुखले राजीनामा दिएर अप्ठ्यारो परिस्थिति सिर्जना हुने अवस्था भए त्यस बेला अर्को विकल्पमा जाने पनि बताए । यद्यपि त्यस्तो अवस्था सिर्जना नहुने उनले बताए । ‘उहाँहरूबाट पनि स्पष्ट कुरा आएको छ । प्रदेशमा गठबन्धनको सरकार भन्दा पनि सहमतीय सरकार बनाएर जानुपर्छ भन्ने उहाँहरूको कुरा हो । प्रदेशभित्रको राजनीतिलाई स्थिरता बनाएर जाने भन्ने हाम्रो कुरा हो । यदि त्यो गर्न सकेनौँ भने प्रदेशका माननीयहरूको आयु घट्ने देखिन्छ । त्यस कारण प्रदेशको स्थिरता र विकासका लागि सहमति, सहकार्य गरेर नै अगाडि बढ्नुपर्छ । दलहरूबिचको एकता नै अहिलेको आवश्यकता हो,’ थापाले भने ।
अर्को प्रसङ्गमा उनले प्रदेशमा बजेट शून्यतामा नजाने बताए । ‘बजेट होलिडे हुने अवस्थाबारे सांसदले चिन्ता गर्नु स्वाभाविक हो । १० गतेभित्र हामीले प्रतिस्थापन विधेयक ल्याउनु पर्नेछ । हामी दलहरूबिचमा छलफल छ । प्रतिपक्षी दलहरूसहित छलफल गरेर हामी अगाडि बढ्छौँ । त्यो अवस्था आउन हामी दिँदैनौँ,’ थापाले भने ।

