छुर्पीमा नेपाल आत्मनिर्भर: नेपाल

नेपालमा विगत लामो समयदेखि छुर्पी उत्पादन हुँदै आएको छ। विश्वमै छुर्पी बनाउने पहिलो देश नेपाल नै हुनुपर्छ । यसको आफ्नै मौलिकता छ । छुर्पी बिशेष गरी शेर्पाहरुले चौरी गाईको दुधबाट हिमाली भेगमा बनाउने चलन छ । दुध बिक्री गर्न गाह्रो हुने स्थानमा र दूध बिक्री नहुने समयमा यसको उत्पादन हुने गरेको छ । दुधको आयू कम हुने भएकोले धेरै दिनसम्म राख्न सकिदैन ।


त्यसैले यस्तो वस्तु उत्पादन हुँदा दुधको सदुपयोग पनि हुने र किसानलाई आम्दानी हुने हुँदा यसको विकास भएको पाइन्छ । यसलाई आन्तरिक र बाहिरी पर्यटकले खानको लागि खरिद गर्ने गरिन्छ भने ८/१० बर्ष देखि छुर्पी उत्पादनले नयाँ मोड लिएको छ । खास गरी छुर्पी विदेशीमा कुकुरको आहाराको रुपमा निर्यात हुन थालेको छ ।
मानिसले खाने छुर्पीमा स्वादको लागि दुधमा फ्याटको मात्रा राखिन्छ भने कुकुरले खाने छुर्पीमा ०.५ मात्र फ्याटको मात्रा राखिन्छ । अरु प्रक्रिया भने दुबै किसिमको छुर्पी उत्पादनमा उस्तै हुन्छ । त्यसैले कुकुरले खाने छुर्पी अरु नर्मलभन्दा केही कडा हुने गर्छ । अरु कुनै किसिमको पदार्थ हालिएको हुँदैन र शुद्व दुधबाट बन्ने भएकोले मानिसले खाँदा पनि केही फरक भने पर्दैन ।
मानिसले उपभोग गरी रहेको छुर्पीमाभन्दा अर्को छुर्पी हड्डी जस्तै कडा हुने र कुकुरले मासुको हड्डी सम्झेर खाने गरेको पाइन्छ । छुर्पी दुधको पोषणको कारण कुकुरले प्रयोग गर्दा सफल भई हाल यो अवस्थासम्म आइपुगेको हो। अहिले यो विश्व बजारमा बिक्री हुन्छ र दिनदिनै माग बढिरहेको छ ।
छुर्पी निर्यात गर्दा नेपालको दुग्ध क्षेत्रमा राम्रो टेवा पुगेको देखिन्छ । यसको उत्पादनले मिल्क होलिडेको समस्यालाई सम्बोधन गरेको देखिन्छ । नेपालमा मंसिरदेखि चैतसम्म किसानको उत्पादित दुधले बजार नपाएर दुध फ्याक्नु पर्ने अवस्था आउँछ। जाडो महिना छुर्पी उत्पादनको लागि राम्रो वातावरण हुने हुँदा यो किसान र उद्योगको लागि मिल्क होलिडेबाट बच्न राम्रो उपाय पनि हो ।
यो समय दूध बढी भई समस्या भइरहेकोमा छुर्पी उत्पादन हुँदा सबैको हित भइ सफल भइन्छ भने किसानको दूध बिक्री भइ किसान जोगाउने र उद्योगलाई पनि बढी भएको दुध खपत गरि किसानलाई जोगाउन मद्धत पुन्न सक्छ ।
विदेशी मुद्रा आर्जनमा पनि यसले ठूलो सहयोग पुगेको देखिन्छ । हाल केही मुलुकमा मात्र छुर्पी निर्यात गर्न सकिएको छ । यसको कारण स्पष्ट निती नहुनु र उत्पादन सिमित हुनु नै मुख्य हो । यदि हामीले राम्रो निति र उत्पादन बढाउन सकियो भने छुर्पी निर्यात मार्फत देशले टन्नै बिदेशी मुद्रा भित्राउन सक्ने संभावना देखिन्छ ।
अन्य देशमा छुर्पी उत्पादन नहुने भएकोले विदेशमा नेपालको नाम चिनाउने यो एउटा राम्रो माध्यम पनि हुन सक्छ। छुर्पीको उत्पादन नेपालबाट नै शुरूवात भएको कुरा प्रमाणित गरी यसको प्याटन राइट नेपालले नै लिन तर्फ लाग्दा यो देशको लागि पनि ठूलो अवसर हुन सक्छ । यस तर्फ हाम्रो ध्यान नगएकोले हाल भारत अमेरिका, क्यानडामा पनि छुर्पीको उत्पादन सुरु भएको छ ।
जसले गर्दा हिजोको दिनमा जस्तै नेपाली गलैंचा राम्रो हुदाँहुँदै नेपाल त्यो पेशा नै लगभग पलायन भयो । त्यसरी गलैंचा हाम्रो अगाडि नै बन्द भएको इतिहास भएकोले यो छुर्पी पनि त्यस्तो नहोस् भन्ने सबैको चाहाना हो । यो कुरामा राज्यले बेलैमा सोच्नु पर्ने भएको छ ।
छुर्पी उत्पादन र व्यवसायमा भएका केहि तथ्यांक र चुनौतिहरु पनि धेरै छन् । हाम्रो देशमा छुर्पी उत्पादन र व्यवसाय सम्बन्धी राम्रो अध्ययन हुन सकेको छैन । तथ्याङ्क अनुसार हाल नेपालमा छुर्पी उत्पादन मासिक रुपमा ३ लाख केजि भएको पाइन्छ ।
नेपालबाट मासिक १ लाख ५० हजार केजी
निर्यात हुने गरेको छ भने त्यसको बिक्री दर सरदर १४ सय रहेको छ । यसबाट नेपालमा मासिक २१ करोड रुपैया विदेशी मुद्रा भित्रिने छ । यो तथ्यांक हामी भन्सार विभागबाट पनि लिन सक्छौं । नेपाल भित्र पनि मासिक ५० हजार विदेशी छुर्पी बिक्री हुने गरेको छ । नेपालभित्र बिक्री हुने छुर्पीको बिक्री दर सरदर १ हजार रहेको छ ।
मासिक ५ करोड बराबरको नेपाली छुर्पी भारत भएर बिदेश निर्यात हुने गरेको पाइन्छ । नेपाली छुर्पी १ लाख केजि निर्यात हुने गरेको छ । यसको विक्री दर १५ सय हुँदा अहिले भारत भित्रिने विदेशी मुद्रा १५ करोडभन्दा बढी रहेको छ । यसरी भारतबाट छुर्पी पठाउनु उत्पादकको रहर नभएर बाध्यता हो । यदि आफ्नै देशबाट सहज रुपमा निर्यात गर्न पाउने हो भने त्यो रकम पनि हामी कहिँ रहने थियो ।
नेपालबाट धेरै मुलुकमा सामन निर्यात नहुनु र जहाँ निर्यात हुन्छ त्यहाँ पनि नितिगत जटिलता हुनाले दोस्रो देश भएर सामान निर्यात गर्न बाध्य भएको देखिन्छ । यसको नकारात्मक पक्ष भनेको रकम मात्र भारत भित्रिने नभएर हाम्रो ओरिजिन उत्पादन पनि भारत भएर जानाले हाम्रो मौलिकता पनि गुम्न सक्ने खतरा देखिन्छ ।
अहिले उत्पादन हाम्रो भएर पनि भारतीय प्रोडक्टमा सामील हुन्छ र नेपाल राज्यले यस वापत कुनै पनि फाइदा लिन पाएको छैन । हामीले पहल गर्ने हो भने छुर्पीको हामीले प्याटन राइट समेत लिन सक्छौं । यस्तो महत्वपूर्ण कुरामा हामीले केही गर्न सकेका छैनौं ।
छुर्पी उत्पादनमा हाल करिब मासिक रुपमा १ लाख लि. दूध खपत हुने गरेको हालको उत्पादनले देखाउँछ । यस कारण नेपालमा छुर्पी उत्पादन र व्यवसायको संभावना अत्यन्तै राम्रो भएको देखिन्छ । यो पेशाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा किसानलाई धेरै नै लाभ पुगेको पाइन्छ ।
यस्तो महत्त्वपूर्ण उत्पादनलाई राज्यबाट निर्यात गर्दा यदि कुनै किसिमको अनुदान वा सहुलियत प्रदान गरि यो पेशालाई टेवा दिन सके यसले किसानको हित गर्न सक्छ । मिल्क होलिडे रोक्ने यो एउटा अति सरल र सुलभ उपाय हुन सक्छ । राज्य अहिले मिल्क होलिडे रोक्न भनेर अर्बौं खर्च गरेर पाउडर दूध कारखाना लगाउन तत्पर देखिएको छ ।
यसमा थोरै मात्र नितिगत रुपमा सुधार गरेर किसानलाई हौसला प्रदान गर्न सके देश र किसानको हित हुनुको साथै विदेशी मुद्रा पनि आर्जन गर्न सकिन्छ । आशा छ राज्यले यो कुरामा विशेष ध्यान दिई अगाडि बढ्ने छ ।