देशभरका ७० लाखभन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

दमक/ शिक्षकहरूको आन्दोलनका कारण आजदेखि देशभरका ७० लाख भन्दा बढी विद्यार्थीहरूको पठनपाठन बन्द हुने भएको छ । विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलनका लागि काठमाडौँ आएसँगै विद्यार्थीहरूको पठनपाठन प्रभावित हुने भएको हो ।
नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षक, कर्मचारीहरू आन्दोलनका लागि काठमाडौँ आएका छन् । हिजो संविधान दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको थियो । आजदेखि अनिश्चितकाल सम्मका लागि देशभरका सामुदायिक विद्यालय बन्द हुन लागेका हुन् ।
सामुदायिक विद्यालयमा कति छन् कार्यरत शिक्षक
हाल देशभर २७ हजार तीन सय ४३ सामुदायिक विद्यालय रहेका छन् । त्यसमा स्थायी, अस्थायी र राहत गरी एक लाख ५७ हजार तीन सय ५४ शिक्षक कार्यरत रहेको शिक्षा मन्त्रालयले जनाएको छ ।
यस्तै सामुदायिक विद्यालयमा ५३ लाख ८२ हजार छ विद्यार्थी छन् । सोही सामुदायिक विद्यालयका शिक्षहरु सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै आन्दोलित भएका हुन् । नेपाल शिक्षक महासङ्घले काठमाडौँको माइतीघर मण्डलामा धर्ना सुरु गरेको हो ।
मुलुकका विभिन्न जिल्लाबाट आएका शिक्षक र विद्यालय कर्मचारीको धर्नामा संलग्नता छ । महासङ्घले अस्थायी प्रकृतिका शिक्षकहरुको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सृजना, विद्यालय संरचनाबाहिर रहेका बाल कक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कन लगायतका विषयमा सम्बोधन माग गर्दै आएको छ ।
महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदीले आन्दोलनमा भाग लिन काठमाडौँमा आउन शिक्षक र कर्मचारीलाई आग्रह गरिएको जानकारी दिए । सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता गरेको थियो ।
कति छ जनशक्ति ?
नेपालको संविधानमा आधारभूत तहसम्मको शिक्षा पूर्ण निःशुल्क तथा अनिवार्य हुने प्रतिबद्धता छ । संवैधानिक मर्मअनुसार शिक्षा पाउनु बालबालिकाको नैसर्गिक अधिकार हो । नेपालमा हाल सामुदायिक र निजी गरी कुल विद्यालय ३५ हजार ५२० वटा छन् । तिनमा करिब ७० लाख २१ हजार विद्यार्थी अध्ययनरत छन् । तीन लाखभन्दा बढी सामुदायिक तथा निजी शैक्षिक संस्थामा शिक्षक तथा अन्य जनशक्ति कार्यरत छन् । सन् २०२० को तथ्याङ्कमा उमेर समूहको आधारमा आधारभूत कक्षामा खुद् भर्नादर ९३.८ (१–५) र कक्षा (६–८) ६७.२ तथा माध्यमिक तहमा कक्षा (९–१२) ४७.६ प्रतिशत रहेको देखिएको छ । देशभर कुल एक हजार ५४६ संस्थामार्फत विद्यालय तहमा प्राविधिक शिक्षाका जनशक्ति उत्पादन हुन्छन् । हालसम्म ६३५ स्थानीय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षाको पहुँच हुँदा ११८ पालिका आज पनि यस्तो शिक्षाबाट बञ्चित छन् । विद्यालय तहको शिक्षाको आर्थिक लगानीमध्ये ७० प्रतिशत बढी तलब भत्ता र पेन्सन आदिमा खर्च हुने गर्दछ ।

