सिल प्याक सिलिन्डर नै खाली

विराटनगर / कोशी ग्यास उद्योगको सिल प्याक सिलिन्डर रित्तो पाइएको छ । मोरङको बुढिगंगास्थित कोशी ग्यास उद्योगबाट बजारमा बिक्रीका लागि लगिएको सिलप्याक सिलिण्डरमा ग्यास नै नभएको पाइएपछि उक्त उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।
सो उद्योगलाई आइतबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले दुई लाख रुपैयाँ जरिवाना गराएको हो । बूढीगंगा गाउँपालिका–४, नेमुवास्थित कोशी ग्याँस उद्योगले बिक्रीका लागि लगेको ग्याँस विराटनगर–९ ट्राफिक चोक घर भएकी अञ्जना सिंहले खरिद गरेकी थिइन् ।


सिलप्याक सिलिन्डरमा १४ केजी २ सय ग्राम ग्याँस हुनुपर्ने हो । तर, कोशीको १५ केजी ४ सय ग्रामको सिलिण्डरमा ग्याँस नै नभरेको भेटिएको वाणिज्य कार्यालयले जनाएको छ ।
उपभोक्ता सिंहले विराटनगरस्थित कोशी ग्याँसको डिलर न्यू हिमाल मार्केटिङ्गबाट ग्याँस खरिद गरेको हो । डिलरबाट ग्याँस डुलाउने चौधरीसँग आफूले ग्याँस लिएकी सिंहले सिलिण्डर जोड्न खोज्दा ग्याँस नभएपछि अचम्मित भएको बताइन् ।
सिलप्याक सिलिन्डरमा ग्याँस नभएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले उद्योग निरीक्षण गरेको थियो । कार्यालयका प्रमुख हितेश बस्नेतसहितको टोलीले आइतबार उद्योगको निरीक्षण गर्दा कैफियत भेटिएपछि दुई लाख रुपैयाँ जरिवाना गरेको हो ।
उपभोक्ता संरक्षण ऐन अनुसार कोशी ग्याँस उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गराएको बस्नेतले बताए । ग्याँसमा उपभोक्तामाथि ठगी भइरहेको देखिएको वाणिज्य कार्यालयले जनाएको छ । उपभोक्ता सिंहले कोशी ग्याँसबाट आफूजस्ता धेरै उपभोक्ता ठगिएको हुनसक्ने बताइन् ।