विराटनगर /  नेकपा (एमाले)को कोशी प्रदेश अधिवेशनको प्रतिनिधि छनौट १४ जिल्लामै सम्पन्न भएको छ । एमालेले कोशी प्रदेशका १४ जिल्ला, जनसंगठन र मनोनित गरेर १ हजार ४७ जना प्रतिनिधिहरू चयन भएका छन् ।

प्रतिनिधि चयन भइसक्दा प्रदेश अध्यक्षको आकांक्षीहरु भने माथिको आदेश कुरेर बसेका छन् । अध्यक्षका लागि हालसम्म मोरङबाट विनोद ढकाल, घनश्याम खतिवडा, संखुवासभाबाट तुलसी न्यौपाने र धनकुटाका टिकाराम चेम्जोङ आकांक्षी छन् ।

खतिवडाले पार्टीले दिने निर्णयलाई आफूले मान्ने बताए । ‘मैले ४७ वर्षदेखि पार्टीले भन्दै आएको कुरालाई मानेको छु, प्रदेश अध्यक्षको सन्दर्भमा पनि म उपर्युक्त पात्र हुँ भनेर भनेको छु,’ उनले भने, ‘त्यसमा पनि पार्टीले सहमतिका लागि सहकार्यका लागि, पार्टी एकताका लागि तँ अहिलेलाई बस भन्छ भने मान्न पनि तयार छु ।’
खतिवडाले आफूले पार्टीको नेतृत्व तहमा पनि प्रदेश अध्यक्षको विषयमा कुरा गरेको जानकारी दिए । ‘मैले यस विषयमा नेतृत्वसँग प्रष्ट भनेको छु,’ उनले भने, ‘अहिलेसम्म यस्तो गर्नु, उस्तो गर्नु केही भनेको अवस्था छैन ।’

एमाले स्रोतका अनुसार शनिबार मोरङका नेता विनोद ढकालले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसँग भेट गरेका छन् । दुई घण्टा लामो भेटमा अध्यक्ष ओलीले ढकाललाई प्रष्ट ढंगले अगाडि बढ्नु भनेनन् । ‘लामो छलफलपछि अन्तिममा अध्यक्षज्यूले मैले तपाईको कुरा बुझें भनेर छलफललाई बिट मारेको जानकारीमा आएको छ,’ स्रोतले भन्यो, ‘विनोद कमरेडले पनि आफू चुनाव जित्ने हिसाव सुनाउनु भएको छ ।’

ढकालले ओलीलाई कन्भिन्स गर्ने कोशिस गरेको बताइएको छ । ‘अहिलेको सन्दर्भमा अध्यक्षलाई नरिझाइसम्म केही हुने वाला छैन । उहाँले सिठ्ठी फुक्नेमात्रै हो, तल सबैले मान्छन्,’ स्रोत भन्छ, ‘यहाँ ओलीबाले भनेको अवस्थामा भानुभक्त ढकाल, हिक्मत कार्की, शेरधन राई सबैले एउटैलाई सहयोग गर्ने हो ।’ ढकालले ओलीसमक्ष आफूलाई पटक–पटक अन्याय भएको विषय राखेका थिए । जवाफमा ओलीले अब न्याय हुन्छ भनेको स्रोत बताउँछ ।

चार जना आकांक्षी रहेपनि चुनाब भएमा ढकाल र न्यौपानेबीच प्रतिस्पर्धा हुने एमाले स्रोतको दाबी छ । प्रदेश अध्यक्षमा झापा, मोरङ र सुनसरीका प्रतिनिधिको मुडमा धेरै भरपर्ने नेताहरु बताउँछन् । मोरङमा ढकालको अवस्था बलियो रहेपनि झापा र सुनसरी अनुकूल नदेखिएको उनीपक्षकै प्रतिनिधिहरु बताउँछन् ।

यद्यपी अध्यक्ष ओलीले ढकाल र न्यौपानेमध्ये एउटालाई बोकेर अर्कालाई नछोड्ने एक एमाले नेताले बताए । ‘अध्यक्षले कसैलाई बोकेर, कसैलाई फाल्नुहुन्न जस्तो लाग्छ’ ती नेताले भने, ‘अध्यक्ष ओली तटस्थ रहेको खण्डमा ढकालले जित्ने देखिन्छ ।’

हिसाव किताब मोटामोटी आएपनि बाको लाइन प्रष्ट नआउँदा अन्यौल देखिएको अर्का नेताले बताए । ‘बा को सिग्नल नआएसम्म प्रष्ट नहुने देखियो,’ उनले भने । यद्यपि विनोद ढकाललाई बाले अगाडि बढ्न स्पष्ट जवाफ नदिएपछि समस्या सिर्जना हुनसक्ने देखिएको उनको दाबी छ ।

एमालेले असोज १२ र १३ गते विराटनगरमा प्रदेश अधिवेशनको मिति तय गरेको छ । जसका लागि ताप्लेजुङबाट ४८, पाँचथरबाट ३०, इलामबाट ७७, झापाबाट १८१, संखुवासभाबाट ३९, तेह्रथुमबाट ४३, भोजपुरबाट २७, धनकुटाबाट ७२, सुनसरीबाट ९६, मोरङबाट १७८, सोलुखुम्बुबाट १६, ओखलढुंगाबाट ४२, खोटाङबाट ५६, उदयपुरबाट ३६ जना र जनसङ्गठनबाट ५६ र मनोनित ५० जना प्रतिनिधि छनौट भएका छन् । अधिवेशनमा भूगोलबाट ९६२ जना, युवाबाट ५३, मजदुरबाट ३२ जना प्रतिनिधि छनौट हुँदा ३३४ जना महिला हुनेछन् ।

पार्टी अध्यक्षको चर्चामा रहेका विनोद ढकाल मोरङमा दुईपटक अध्यक्ष चलाएका व्यक्ति हुन् । उनी बलिया प्रतिस्पर्धी मानिन्छन् । हक्की र सहयोगी स्वभावका उनी एमालेभित्रका परिचित व्यक्ति पनि हुन् । विराटनगर स्थायी घर भएका ढकाल पार्टीभित्रका मात्रै नभइ पार्टी बाहिरकालाई पनि सहयोग गर्ने स्वभावका छन् । प्रदेशको राजधानी विराटनगरमा रहेर एमालेलाई जोगाउन ढकालले खेलेको भूमिका प्रसंशनीय रहेको कतिपय बताउँछन् ।

यस्तै उत्तरी मोरङ लेटाङ निवासी घनश्याम खतिवडा पनि पाका र पुराना एमाले नेता हुन् । ढकालको तुलनामा उनी कमजोर छन् । एमालेमा लामो समय माधवकुमार नेपाल पक्षमा लागेका उनी पछिल्लो समय भने ओली क्याम्पमै थिए । उनी मोरङको एमाले अध्यक्षमा ढकालसँगै पराजित भएका थिए ।

उता, हाल अध्यक्ष रहेका तुलसीप्रसाद न्यौपाने संखुवासभा निवासी हुन् । पहिलो प्रदेशसभाको कार्यकालमा संखुवासभाबाट निर्वाचित उनी पनि सुरुमा माधव नेपाल निकट थिए । तर, पार्टी विभाजनको समयमा नेपालको साथ छोड्दै न्यौपानेले ओलीलाई साथ दिएपछि केही समय प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्रीसमेत बनेका थिए ।

हाल एमालेको कोशी प्रदेश उपाध्यक्ष रहेका टिकाराम चेम्जोङ पूर्व सांसद हुन् । उनी लामो समयदेखि ओली समूहमै रहँदै आएका नेता हुन् । आकांक्षी सबै अधिवेशनको प्रतिनिधि छनौट भइसकेका छन् ।

Facebook Comments Box