दुई महिनामै साढे १० अर्ब ऋण थपियो

दमक/ चालू आर्थिक वर्षको पहिलो दुई महिनामै नेपालको सार्वजनिक ऋण साढे १० अर्ब रुपैयाँले बढेको छ । भदौ मसान्तसम्ममा नेपालको कुल तिर्न बाँकी ऋण २३ खर्ब नौ अर्ब ८६ करोड पुगेको छ । असार मसान्तसम्म कुल ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड रहेको थियो । यो दुई महिनामा सरकारले कुल ४९ अर्ब २३ करोड रुपैयाँ ऋण प्राप्ति गरेको छ भने ३८ अर्ब ७१ करोड रुपैयाँ ऋण भुक्तानी गरेको छ ।
द्विपक्षीयभन्दा बहुपक्षीय ऋण बढी हुनु राम्रो हो ः डा. चन्द्रमणि अधिकारी अर्थशास्त्री अहिलेसम्म हाम्रो ऋणको प्रकृति नराम्रो छैन । कुल वैदेशिक ऋणमा ८० प्रतिशतभन्दा बढी हिस्सा बहुपक्षीय साझेदार (विश्व बैंक र एडिबी)को छ । संस्थागत ऋणको ब्याजदर कम हुन्छ, सेवा शुल्क कम हुन्छ, त्यस्तै म्याद अवधि पनि लामो हुन्छ ।
त्यसैले कुनै देशको भन्दा संस्थाको ऋण बढी हुनु राम्रो हो । देशको निजी स्वार्थ हुन्छन् । तर, पछिल्लो समय ऋण धेरै बढेको छ, त्यसमा पनि आन्तरिक ऋण धेरै बढेको छ जुन उचित होइन । आन्तरिक ऋण बढ्दा त्यसले अर्थतन्त्रमा दोहोरो प्रभाव पर्छ । एकातर्फ बजारमा तरलता अभाव बढाउँछ, अर्कोतर्फ ऋण सेवाको दायित्व बढ्छ ।
उत्पादन वृद्धि र पूर्वाधार विकास पनि सोही गतिमा भएको भए ऋण बढे पनि नराम्रो हुँदैनथ्यो । पुँजीगत खर्चको आकार र अनुपात घटेको छ, तर ऋण बढेको छ । ऋण लिएर व्यवस्थापनमा खर्च गरिरहेका छौँ जुन उचित होइन ।
वैदेशिक ऋण दायित्व घटबढ हुनुमा साँवा भुक्तानी र ऋण प्राप्तिका अतिरिक्त विनिमय दरमा हुने परिवर्तन पनि प्रमुख कारकको रूपमा रहेको कार्यालयले जनाएको छ । ऋण भार बढ्नुमा ०७२ मा गएको भूकम्पपश्चात् पुनर्निर्माणमा बाह्य ऋण प्राप्ति बढ्नुका साथै ०७६÷७७ देखि सुरु भएको कोभिड– १९ को महामारीको सामना गर्न लिइएको बाह्य ऋणमा भएको वृद्धि मूल कारक मानिएको छ ।
आर्थिक वर्ष ०७९÷८० को अन्त्यसम्ममा नेपाल सरकारको कुल ऋण दात्यिव २२ खर्ब ९९ अर्ब ३५ करोड पुगेको छ । कुल दायित्वमा आन्तरिक ऋण ११ खर्ब २९ अर्ब १० करोड ३७ लाख रुपैयाँ र वैदेशिक ऋण ११ खर्ब ७० अर्ब २४ करोड ८७ लाख रुपैयाँबराबर छ । गत आर्थिक वर्ष ०७८÷७९ सम्ममा नेपालको कुल ऋण २० खर्ब १३ अर्ब २९ करोड रुपैयाँबराबर थियो । जसमा वैदेशिक ऋण १० खर्ब २५ अर्ब ८४ करोड र आन्तरिक ऋण नौ खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँबराबर थियो ।
आर्थिक वर्ष ०७९÷८० को कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ५३ खर्ब ८१ अर्ब ३३ करोडको अनुपातमा ऋण दायित्व ४२.७३ प्रतिशत पुगेको छ । यस्तो अनुपात अघिल्लो वर्ष ४१.५० प्रतिशत थियो । कुल जनसंख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ लाई आधार मान्दा आर्थिक वर्ष ०७९÷८० सम्ममा प्रतिव्यक्ति कुल ऋण दात्यिव ७८ हजार आठ सय ४० रुपैयाँ पुगेको छ ।
०

