पाँचथर/  पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपका ४५ वर्षीय दीपेन्द्र चेम्जोङको कम्मरमुनिको भाग चल्दैन । ह्विलचेयरकै सहारामा उनलाई चर्पी, भान्सा र आँगनसम्म पु¥याइन्छ । उनले रातो रङको अपांगतासम्बन्धी परिचयपत्र पाएका छन् । दीपेन्द्रसँग हस्तकला सीपको भने भण्डार छ  ।
घरेलु औजारको सहयोगले बाँसका चोयाबाट शृंगार, वाद्यवादन र घरेलु उपयोगका सामग्री बनाउनु उनको दैनिकी हो । बाँसका चोयाबाट सारी पिन, चिम्टी, झुम्काजस्ता शृंगार सामग्री तयार गर्नमा उनी व्यस्त देखिन्छन् ।
धार्मिक र सांस्कृतिक कार्यमा प्रयोग हुने बिनायो, डमरु, चरिबाजा, एकतारे, यलम्बर बाजा, सारंगी, बाँसुरी, मुरली, तुलो र तोङ्बा खाने ढुङ्ग्रो पनि उनी बनाउँछन् । उनले यस्तो इलम गर्न थालेको १६ वर्ष भयो । ‘मैले बनाएका सामान हङकङ र सिंगापुरसम्म किनेर लैजान्छन्,’ उनले भने, ‘त्यसैले अर्डरका सामान बनाउन मलाई भ्याइनभ्याई छ ।’
चेम्जोङले बनाएका हस्तकलाका सामानमा धेरै बिक्नेमा तोङ्बा खाने ढुङ्ग्रो हो । ‘कलात्मक बुट्टा भरेर तयार पारेको ढुंग्रो गोटाकै ५ हजार रुपैयाँमा बेच्छु,’ उनले भने, ‘सारी पिन, चिम्टी र बुटी गाउँघरकै महिलाले पनि धेरै किन्छन् ।’ उनले बाँसका चोया काडेर बनाएका बुटी एक सय रुपैयाँमा र चिम्टी एवं सारी पिन प्रतिगोटा २ सय ५० रुपैयाँमा बिक्री गर्दै आएका छन् ।
सम्मानपूर्वक जीवन जिउने धोकोले उनलाई यतातिर डो¥याएको हो । एसएलसीसम्मको औपचारिक अध्ययन गरेका चेम्जोङले हस्तकलाका यी सामग्री बनाउन कतैबाट तालिम भने लिएका होइनन् । निरन्तरको मिहिनेतले आफूलाई अभ्यस्त बनाएको उनले बताए । २०६० सालमा बस दुर्घटनामा परेर मेरुदण्डमा समस्या आएपछि उनको कम्मरमुनिको भाग चल्न छोडेको हो । आफूलाई मानसिक रूपमा कमजोर नठानेकै कारण यत्तिको सफलता हात लागेको उनको विश्वास छ ।
एक सयदेखि सात हजार रुपैयाँ प्रतिगोटाका सामग्री बनाएर बेचिरहेका उनले डमरु, सारंगी, बिनायो र एकतारे ग्राहकको दोस्रो रोजाइमा पर्ने गरेको सुनाए । चेम्जोङ मुरली, बाँसुरी, बिनायो, मुचुङ्गा, डमरु र एकतारेजस्ता सामग्री बनाउनमात्रै होइन, बजाउन पनि उत्तिकै सिपालु छन् । चेम्जोङले श्रीमती दिलमाया र अन्य साथीभाइलाई बगानबाट बाँस काटेर ल्याउन अह्राउँछन् । दिलमाया वडा कार्यालयमा कार्यालय सहयोगी पदमा जागिरे छिन् । ‘मेरो तलबभन्दा धेरै उहाँ नै कमाउनु हुन्छ । बाँसका सामग्री बेचेर मासिक ३५ हजार रुपैयाँसम्म बचत गरेको मलाई सम्झना छ,’ दिलमाया भन्छिन् ।
कहाली लाग्दो विगत
०५२ मा एसएलसी पास गरेका दीपेन्द्रले ०५५ सालसम्म महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा आईए पढे । पढाइ नसकिँदै साथीभाइको लहडमा रोजगारीका लागि भारतको मेघालयसम्म पुगे । करिब १० महिना भारत बसेर फर्केपछि घुर्बिसे पञ्चमी बजारमा गेस्टहाउस खोले । उनको गेस्टहाउसमै फिल्म हल चल्थ्यो ।
०६० सालतिर माओवादी द्वन्द्व उत्कर्षमा थियो । माओवादीको ‘कि जन, कि धन’ अभियानले उनको व्यवसायमा पनि धक्का पुग्यो, दबाब थेग्न नसकेर उनले विदेश जाने योजना बनाए । उनी वैदेशिक रोजगारीका लागि बहराइन जाने चाँजोपाँजो मिलाउन बस चढेर झापा जाँदै थिए ।
‘झापाको चारआलीमा बस रोकियो । बसमा सुत्केरी व्यथा लागेकी महिला चढिन्  । मैले ती महिलालाई सिट छोडिदिएर बसको हुटमा चढ्न खोजें,’ दीपेन्द्रले पुराना कुरा सम्झिए, ‘हुटमा चढ्दाचढ्दै म उछिट्टिएर भुइँमा बजारिएँ ।’ त्यही घटनापछि उनको कम्मरमुनिको भाग चल्न नसक्ने भयो । अहिलेको अवस्थामा फर्किन त्यतिबेला ६ महिना अस्पताल बस्नु परेको र ३ लाख रुपैयाँ हाराहारी खर्च भएको उनले सुनाए । ‘अस्पतालबाट फर्केपछि बाँच्नु नै व्यर्थ रहेछ जस्तो पनि लाग्यो,’ उनले भने, ‘तर, अन्ततः खुट्टा गुमे पनि आँखा र हात केही भएका छैनन्, इलम गरेर देखाउँछु भनेर बाँसका सामग्री बनाउन थालें ।’
चिकित्सकका भाषामा चेम्जोङलाई ‘स्पाइनल कड इन्जुरी’ भएको हो । विभिन्न समस्या चिर्दै उनी अहिले जिल्लामा सफल उद्यमीका रूपमा दरिएका छन् । राज्यले फरक क्षमता भएका नागरिकको हकमा विशेष नीति ल्याएर सरकारी कार्यालयमा सहज सेवा प्राप्त गर्न सक्ने वातावरण बनाउनुपर्ने उनको सुझाव छ । ‘कहिलेकाहीं अहिले पनि फलोअपमा अस्पताल जानुपर्छ,’ उनले भने, ‘त्यसबेला कसै न कसैको साथ लिन्छु । प्रायः अस्पताल अपांगमैत्री नहुँदा ज्यादै दुःख लाग्छ ।’

Facebook Comments Box