झापा / मेचीनगर नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरुले पूर्वनिर्धारित दशैं विदाका दुई दिन विद्यालय सञ्चालन गर्ने भएका छन् ।

नेपाल शिक्षक महासंघ मेचीनगरका अध्यक्ष केशव पौडेलले गत असोज ४ र ५ गते भएको शिक्षक आन्दोलनका कारण बन्द भएको पठनपाठनको क्षतिपूर्तिस्वरुप दशैं विदा अवधिभित्रको असोज २९ र ३० गते नगरभित्रका सबै सामुदायिक विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको बताउनुभयो ।

विद्यालयहरुका लागि दशैं विदा घटस्थापना अर्थात असोज २८ गतेदेखि नै सुरु हुन्छ । निजामती कर्मचारीहरुका लागि भने फुलपाती अर्थात कार्तिक ४ गतेदेखि मात्र दशैं विदा सुरु हुन्छ ।

“शिक्षक आन्दोलनका लागि पठनपाठन बन्द गरेर काठमाडौं जाँदा नै हामीले जति दिन पढाई बन्द हुन्छ, त्यति नै दिन पछि विदाका बेला पढाई सञ्चालन गर्नेछौं भनेका थियौं,” नेपाल शिक्षक महासंघ मेचीनगरका अध्यक्ष केशव पौडेलले भन्नुभयो–“बाचा पूरा गर्दै हामीले दशैं विदाको दुई दिन विद्यालय सञ्चालन गर्ने निर्णय गरेका हौं ।”

महासंघले नगरभित्रका घटक संस्थाहरुसँग बैठक बसेर विदाको दुई दिन असोज २९ र ३० गते विद्यालय सञ्चालन गर्नका लागि नगरका विद्यालयहरुलाई परिपत्र गरिसकेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । मेचीनगरमा ४२ वटा सामुदायिक विद्यालय रहेका छन् ।

Facebook Comments Box