अध्यक्ष साह सहितलाई ३ महिना कैद , प्रमुख प्रशासकिय अधिकृत दङगालले पाए सफाइ

झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहलाई भ्रष्टाचार मुद्दामा तीन महिना कैद सजाय भएको छ ।सडक निर्माणमा भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतले अध्यक्ष साह सहितलाई ३ महिना कैद र १० हजार जरिवानाको फैसला गरेको हो ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको करिब चार महिनापछि फैसला सुनाउँदै ११ आरोपीमध्ये १० जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार अध्यक्ष साहसहित गाउँपालिकाकी पूर्वउपाध्यक्ष कुन्तीदेवी बुढाथोकी, वडा नम्बर ६ का तत्कालीन अध्यक्ष हरिबहादुर बानियाँ, वडा नम्बर ७ का नेत्रप्रसाद उप्रेती र वडा नम्बर ३ का तत्कालीन वडाध्यक्ष मोतीलाल गणेशलाई पनि समान सजायको फैसला भएको छ ।
गाउँपालिकाका इन्जिनियर अभिशेष दास र सबइन्जिनियर विज्ञान चम्लागाईंलाई पनि ३ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय तोकिएको छ । भ्रष्टाचारमा मुछिएका उपभोक्ता समितिका पदाधिकारी पनि दोषी ठहर भएका छन् । लक्ष्मीमार्ग बाटो उपभोक्ता समितिका अध्यक्ष धनपति थपलिया, सचिव फणीन्द्रप्रसाद खरेल, कोषाध्यक्ष सन्तमाया सुब्बा लिम्बूलाई ४ महिना कैद र ४ लाख ४१ हजार ९६४ रुपैयाँ जरिवाना तोकिएको छ ।
गाउँपालिकाका प्रशासकीय अधिकृत चोलाराज दंगालको भने अनियमिततामा प्रष्ट मिलेमतो नदेखिएको भन्दै उनले सफाइ पाएका छन् । आर्थिक वर्ष ०७४–७५ मा झापा गाउँपालिकाको वडा नम्बर ३, ६ र ७ मा बाटो ग्राभेल गर्दा वास्तविक कामभन्दा धेरै काम भएको नापी किताब तयार गरी नक्कली बिल बनाएर भुक्तानी गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले गत २७ असारमा मुद्दा दायर गरेको थियो ।
अख्तियारले २२ लाख ८२३ रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित मुद्दा दायर गरेको थियो । साह दोस्रो कार्यकालको लागि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । अख्तियारको मुद्दा दर्तापछि उनी निलम्बनमा परेका थिए । हाल उपाध्यक्ष अन्जुदेबि थपलियाले कार्यबहाक अध्यक्षको जिम्मेवारी समाल्दै आएकी छन ।