राम कार्कीको ‘विकल्प’ माथि परिचर्चा

विर्तामोड/ नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिव राम कार्की ‘पार्थ’ द्वारा लिखित ‘विकल्प समता, समाजवाद र मुक्त दुनियाँ’ पुस्तक परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।


माक्र्सवादी चिन्तक कार्कीको उक्त पुस्तक गत असोज २१ गते काठमाडौंमा लोकार्पण गरिएको थियो । उक्त पुस्तकमाथि काठमाडौंबाहिर झापामै पहिलोपटक परिचर्चा गरिएको हो । बौद्धिक नेता तथा निडर विश्लेषकको छबि बनाएका कार्कीको पुस्तकमाथि टिप्पणी गर्दै सहभागी वक्ताहरूले कम्युनिष्टका नाममा बेथिति र अराजकता बढ्दै गएको बताएका छन् । उनीहरूले मानव तस्कर, सुन तस्कर, दलाल, भ्रष्टहरू कम्युनिष्ट पार्टीका सदस्य भएका कारण आजको अवस्था आएको बताएका थिए ।
बिर्तामोडस्थित गौरीशंकर प्रतिष्ठानको सभाहलमा शनिबार आयोजित पुस्तक परिचर्चा कार्यक्रममा राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेल र युवा बुद्धिजीवी उज्ज्वल प्रसाईंले कार्कीको उक्त पुस्तक मुलुकलाई आवश्यक विकल्पका लागि नयाँ विचारको शुरुवात विन्दु भएको बताए । नेपालका समग्र कम्युनिष्ट पार्टीहरू उत्थान, पतन र नयाँ वैचारिकीका निम्ति यो पुस्तकले सन्दर्भको रूपमा काम गर्ने उनीहरूको भनाइ थियो ।
शहिद तथा बेपत्ता सन्तति फाउन्डेसन प्रदेश समितिको आयोजनामा भएको कार्यक्रममा समाजमा विचारलाई मर्न नदिन र विचार अनि सिद्धान्तले समाजलाई जीवन्त राख्ने हुनाले आफूले यो पुस्तक लेखेको लेखक कार्कीले बताए ।
पुस्तकमा करीब १५ वर्ष यताको नेपाली राजनीति र त्यसमा कम्युनिष्ट पार्टी माओवादी र एमालेका विचारहरूमाथि वैचारिक विमर्श समेटिएको छ । यसलाई लेखक कार्कीले आफ्नो वैचारिक प्रस्तावना या दस्तावेजको मस्यौदा भनेका छन् र सार्वजनिक बहसका माध्यमबाट दस्तावेजलाई अन्तिम रूप दिन अपिल गरेका छन् ।
पुस्तक समग्रमा माक्र्सवादी विचारधारा र विश्व कम्युनिष्ट आन्दोलनका वैचारिक, साङ्गठनिक, सांस्कृतिक मूल्यहरू, पूँजीवादसँगको सङ्घर्ष र त्यसक्रममा आन्दोलनहरूमा आएका उतारचढावको एउटा समरेखीय विश्लेषण पद्धतिमा आधारित छ ।