सबै नेता खराब हुदैनन् – देवेन्द्र दाहाल

दमक/ एमाले राष्ट्रिय सभा संसदीय दलका नेता देबेन्द्र दाहालले कुनै पार्टीका केही नेताले कमजोरी गरेका कारण सबै पार्टी र सबै नेता खराव भए र लोकतन्त्रको विकल्प खोज्नुपर्छ भनेर बुझ्नु गलत भएको टिप्पणी गर्दै सबै नेतालाई एउटै टोकरीमा राखेर नहेर्न आग्रह गरे । उनले राष्ट्रिय शक्ति छिन्नभिन्न हुँदा छिमेकीले हेप्न थालेको प्रसङ्ग उल्लेख गर्दै विदेशी तत्व हावी भएको भन्दै लोकतन्त्र र राष्ट्रिप्रेमी शक्तिहरु एकजुट हुनुपर्ने बताए ।


दमकमा प्रेस चौतारी माइपश्चिमले आयोजना गरेको तिहार विशेष चियापान समारोहलाई सम्बोधन गर्दै नेता दाहालले चिहानमा पुगेको राजतन्त्र फर्कन नसक्ने बताएका छन् । उनले पछिल्लो समय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भइरहेको भन्दै लोकतन्त्र र गणतन्त्रमाथि भएको प्रहार विरुद्ध सबै एकजुट हुन आग्रह गरेका छन् ।
उनले योजना सही नहुँदा धान निर्यात गर्ने देश धान र खाद्यान्न आयात गर्नुपर्ने अवस्थामा पुगेको टिप्पणी गरे । उनले सामाजिक सञ्जालको सही सदुपयोग नहुँदा नराम्रा कुराहरुले स्पेस पाउने गरेको पनि बताए ।
उनले भुकम्प पीडितहरुलाई राहत र घरबारविहिनहरुलाई घरबार र राहत वितरणलाई निस्पक्ष र छरितो बनाउँदै तिब्रता दिन सरकारसमक्ष आग्रह गरे ।
चियापान कार्यक्रममा एमाले केन्द्रीय सदस्यहरु रोमनाथ ओली, गीता अधिकारी, प्रदेश सांसद होमबहादुर थापा, एमाले प्रदेश सदस्य अम्बिका खनाल, बेनु शिवाकोटी, झापा जिल्ला सचिव शिव ढुंगेल लगायत जिल्ला र नगरका नेता कार्यकर्ताहरुको उपश्थिति रहेको थियो ।