कोभिड महामारीका कारण विगत चार वर्षदेखि ठप्प रहेको नेपाल र चीन जोड्ने नेचुङ-लिजी नाका अर्थात् मुस्ताङको कोरला नाका सोमबारदेखि औपचारिकरूपमा बाह्रै महीना खुला भएको छ।

नेपाल र चीनतर्फका अधिकारीहरूले सोमबार औपचारिकरूपमा उद्घाटन गरी नाका खुला गरेका हुन्। कार्यक्रममा नेपाल पक्षबाट प्रतिनिधि सभा सदस्य योगेश गौचन थकाली, गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री दिपेन्द्रबहादुर थापा, पोखराका मेयर धनराज आचार्य लगायतको उपस्थिति थियो।

नाकामा हाल उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकार दामोदरकुण्ड गाउँपालिकाका स्थानीय मात्र जान पाउँछन्। गत असोजदेखि नै दुई गाउँपालिकाका स्थानीयलाई मात्र सीमा प्रस्थान अनुमतिपत्र बाँडिएको थियो।

पहिलो चरण अन्तर्गत जिल्ला प्रशासन कार्यालय मुस्ताङले ९८० जनालाई सीमा प्रस्थान अनुमतिपत्र वितरण गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए।

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा कोरला नाका सञ्चालनको विषयमा छलफल भएको थियो।

मुस्ताङवासी खुशी

नाका खुलेसँगै व्यापारिक कारोबारका लागि कोरला नाकामा निर्भर रहेका उपल्लो मुस्ताङवासी खुशी भएका छन्। सोही क्षेत्रका सांसद विकल शेरचन कोरला नाका खुल्नु सकरात्मक भएको बताउँदै यसले स्थानीयलाई ऊर्जा दिएको बताउँछन्।

नाका खुलेसँगै राहतका रूपमा चीन सरकारले उपल्लो मुस्ताङवासीका लागि खाद्यान्न, लत्ताकपडा सहितका सामग्री प्रदान गरेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बताए।

कोभिड अघिसम्म कोरना नाकामा वर्षमा दुई पटक व्यापारिक मेला लाग्ने गर्थ्यो। जसमा बिजुलीका सामान, पेयपदार्थ, पस्मिना, पिठो, भेडाच्याङ्ग्रा, यार्सागुम्बा लगायतका सामग्री आयात तथा निर्यात गरिन्थ्यो। करोडौंको व्यापार हुने मेला सञ्चालन नहुँदा यसबीचमा स्थानीय चिन्तित बनेका थिए।

नाकामा चीनले आफ्नोतर्फ आधुनिक पूर्वाधार सहितको भव्य भवन निर्माण गरिसकेको छ। नेपालतर्फको भूभाग भने खुला चौर छ।

हालका लागि चीन सरकारकै सहयोगमा अस्थायी भन्सार कार्यालय र सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी)का लागि आवश्यक पर्ने अस्थायी पूर्वाधार निर्माण गरिएको छ।

Facebook Comments Box