दमक / स्थानीय एक कर्मचारीको मृत्यु घटना प्रकरणमा कमल गाउँपालिका ६ का वडाध्यक्ष नरेन्द्रप्रसाद भट्टराई पक्राउ परेका छन् ।

कमल ६ स्थायी घर भई पाँचथरको वन कार्यालयमा कार्यरत ३६ बर्षीय अनिल कार्कीको मृत्यु प्रकरणमा संलग्नताको आरोपमा वडाध्यक्ष भट्टराईलाई प्रहरीले शुक्रबार पक्राउ गरी अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रहरीको खोजीमा रहेका उनी प्रहरी कार्यालय आफै आएपछि उनलाई पक्रेर थुनामा राखिएको थियो । अदालतबाट म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटना भएको १८ दिनपछि उनी प्रहरी कार्यालय उपस्थित भएका थिए ।

एउटै कसूरमा मृतक कार्कीकी श्रीमती चाहना पोख्रेल र ससुरा पुण्यप्रसाद पोख्रेललाई प्रहरीले घटना भएको भोलिपल्ट पक्राउ गरेको थियो । वडाध्यक्ष भट्टराई भने यतिबेलासम्म कानूनी कार्वाहीभन्दा बाहिर थिए ।

त्यसो त प्रहरीले सुरुमा उनीमाथि किटानी जाहेरी लिन अस्वीकार गरेको थियो । मृतकका मामा खेमबहादुर बुढाथोकी इलाका प्रहरी कार्यालय दमक जाँदा वडाध्यक्षको नाम हटाउन लगाएर कार्कीकी श्रीमती चाहना र ससुरा पुण्यप्रसादको नाममा मात्र प्रहरीले किटानी जाहेरी लिएको थियो । आफ्नो भान्जाको मृत्युमा वडाध्यक्षको पनि हात हुँदाहुँदै प्रहरीले राजनीतिक दबाबमा पक्राउ गर्न नसकेको मृतक कार्कीका मामा बुढाथोकीले दावी गरे । घटनामा वडाध्यक्ष भट्टराईको समेत प्रत्यक्ष संलग्नता देखिएकाले जाहेरीको पेटबोलीमा भने उनको नाम उल्लेख छ । जाहेरीमा वडाध्यक्ष भट्टराईको नाम उल्लेख भएकाले उनीमाथि पनि अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताएका थिए ।

गत ६ कार्तिक गते अर्थात महानवमीको दिन मृतक कार्की र उनकी श्रीमतीबीच घरायसी विवाद भइरहेको बेला वडाध्यक्ष भट्टराई पुगेका थिए । सो क्रममा भट्टराईले समेत कार्कीमाथि हातपात गरेको मृतकका आफन्तले बताउँदै आएका थिए । आफूमाथि वडाध्यक्ष भट्टराईले गरेको कुटपिटको घटनालाई लिएर मृतक कार्की दशैंको टिकाको दिन अर्थात कात्तिक ७ गते किटानी जाहेरीसहित इलाका प्रहरी कार्यालय दमकमा पुगेका थिए । तर, त्यस जाहेरीलाई प्रहरीले सामान्य रुपमा लिएर आवश्यक कारवाही अघि नबढाइदिँदा कार्की न्यायको लागि हारगुहार माग्दै हिंडेका थिए । उनले पारिवारिक मामिलामा वडाध्यक्ष भट्टराईले एकपक्षीय दबाब र हस्तक्षेप दिएको गुनासो गरेका थिए । त्यसक्रममा कार्तिक १२ गते साँझ कार्कीको शव आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको थियो । कार्कीलाई श्रीमती, ससुरा र वडाध्यक्ष भट्टराईले आत्महत्या गर्न लगाएको आफन्तले आरोप लगाउँदै आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्धा चलाउन माग गर्दै स्थानीयले प्रदर्शन समेत गरेका थिए ।

Facebook Comments Box