उर्लाबारी आगलागी घटनाका घाइते पण्डितको मृत्यु

दमक/ मोरङको उर्लाबारी नगरपालिका–७ मा कार्तिक २६ गते लक्ष्मीपूजाको राति भएको आगलागीमा घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।


स्थानीय दीपक कार्कीले आफ्नै घरमा सञ्चालन गरेको स्नेहा सुनचाँदी पसलमा भएको आगो निभाउन गएका कारण घाइते भएका उर्लाबारी–७ का ४३ वर्षीय तपन पण्डितको मंगलबार बिहान मृत्यु भएको हो ।
पण्डितको उपचारको क्रमा विहान २ः४५ बजेतिर काठमाडौंस्थित कीर्तिपुर वर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उर्लाबारी प्रहरीले जनाएको छ । सो अस्पताललमा उपचाररतमध्ये गम्भीर अवस्थाका ८ जनाको आईसीयूमा उपचार भइरहेको छ ।
राति १०ः३० बजेतिर अचानक आगलागी सुरु भएपछि निभाउन गएका ४ प्रहरी र २४ स्थानीय गरेर २८ जना घाइते भएका थिए । घाइतेहरुको वर्न अस्पतालमै उपचार भइरहेको छ । उनीहरुलाई नेपाली सेनाको जहाजबाट काठमाडौं लगिएको थियो ।
प्रहरीका अनुसार आगलागीबाट ३ करोड ४१ लाखभन्दा धेरैको क्षति भएको थियो । आगलागीको कारण अझैसम्म खुल्न सकेको छैन ।