नक्कली भुटानी शरणार्थी प्रकरणमा सुनुवाइ आज

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायतले दायर गरेको रिटमा आज मंगलबारबाट पाटन उच्च अदालतमा निरन्तर सुनुवाइ हुने भएको छ ।


नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध खाँणसहित १६ जनाले संयुक्त निवेदन दिएका थिए। यसअघि पटक–पटक पेसीमा चढे पनि यो मुद्दाको सुनुवाइ हुन सकेको थिएन ।
यो मुद्दामा पक्राउ परेका १९ जनामध्ये केशव तुलाधर, टंक गुरुङ र लक्ष्मी महर्जन भने धरौटीमा छुटेका थिए । तर तुलाधर र गुरुङलाई पनि थुनामै राख्नुपर्ने मागसहित सरकारी वकिलको कार्यालय उच्च अदालत गएको थियो ।
अभियुक्तहरुविरुद्ध राज्यविरुद्धको अपराध, लिखत किर्ते, सङ्गठित अपराध तथा ठगी कसुरअन्तर्गतको मुद्दा लगाइएको छ । उनीहरूसँग २८ करोड ८१ लाख ७४ हजार रुपैयाँको बिगो दाबी गरिएको छ ।
नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा सरकारी वकिलको कार्यालयले ३० जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो। सो मुद्दामा गत असार १ गते काठमाडौँ जिल्ला अदालतले अभियुक्तहरूलाई थुनामा पठाउन आदेश गरेको थियो ।
उक्त प्रकरणमा भूतपूर्व उपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाँण, पूर्वसचिव पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल थुनामा छन् ।
यस्तै, पूर्वगृहमन्त्री रामबहादुर थापाका तात्कालिक सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वउपप्रधानमन्त्री रायमाझीका छोरा सन्दीप रायमाझी तथा बिचौलिया भनिएका केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, टङ्क गुरुङ, सागर थुलुङ राईलगायत पनि थुनामा छन् ।