दमक / गौरादह नगरपालिका नगर शिक्षा शाखाले आयोजना गरेको नगर स्तरीय अन्तर विद्यालय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। नगर भित्रका विभिन्न विद्यालयमा खेलकुद केन्द्र निर्धारण गरेर छनौट चरण पार गरि उत्कृष्ट विद्यालयका विद्यार्थीहरु बिच प्रतिस्पर्धा गराई उत्कृष्ट विद्यालय र विद्यार्थीहरुलाई शुक्रबार पुरस्कार वितरण गरिएको थियो ।

खेलकुदमा प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तह तर्फ छुट्टाछुट्टै विभिन्न विधामा प्रतिस्पर्धा गराइएको थियो । प्रा.वि तर्फ छात्रछात्राहरुका बिच चक्लेट दौड,१०० मिटर दौड, १०० मिटर रिले दौड, हिसाब दौड र चित्रकलामा प्रतिस्पर्धा गराईएको थियो । नि.मा.वि तर्फ छात्रछात्राहरुका बिच १०० मिटर २०० मिटर दौड,लङजम्प, हाईजम्प र कबडी तथा मा.वि.तर्फ १०० मिटर,२०० मिटर र ४०० मिटर दौड,लङजम्प, हाईजम्प र भलिवल खेलमा प्रतिस्पर्धा गराईएको थियो।

समापनको अवसरमा विजयी तथा उत्कृष्ट विद्यार्थीहरुलाइ ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । जनता मा.वि गौरादहका प्रधानाध्यापक तथा खेलकुद संयोजक बुद्धिमान कार्कीको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि गौराहद नगरपालिकाका मेयर रोहित कुमार साह रहेका थिए ।
नगर शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख टेक नाथ रेग्मी, स्कुलचौन मा.वि.का प्रधानाध्यापक बाबुराम भण्डारी, प्रगति मा.वि का प्रधानाध्यापक डिल्लीराम अधिकारी लगायतले शुभकामना मन्तब्य राखेको सो कार्यक्रमको सञ्चालन शिक्षक डण्डीराज घिमिरेले गरेका थिए ।

Facebook Comments Box